: नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका छन्। उनले जेनजी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका हुन्।
महासचिव पोखरेलले आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको बताए। उनले जेनजी आन्दोलनमा उठाइएका माग जायज भएपनि राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे।
महासचिव पोखरेले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान विपरीत भएको टिप्पणी गरे। आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै उनले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने बताए।
महासचिव पोखरेले जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने बताए। गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ।