— कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको महाधिवेशन सम्बन्धमा चारवटा विकल्प सुझाएका छन् । उनले पहिलो विकल्पमा अर्का महामन्त्री गगन थापाले केही दिनअघि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्ताव गरेको मंसिर २७–२९ को नियमित महाधिवेशनकै तालिका अघि सारेका छन् ।
यसमा सहमति नभए उनले विशेष महाधिवेशनका लागि दुई वटा विकल्पमा खड्काको ध्यानाकर्षण गराएका छन् ।
महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा उनले केन्द्रीय कार्यसमितिले नै बोलाउनुपर्ने दोस्रो विकल्प सुझाएका हुन् ।
विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ । त्यसैअनुसार महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत हस्ताक्षरबाट पनि विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ ।
केन्द्रीय कार्यसमितिले आफैं महशुस गरेर विशेष महाधिवेशन बोलाएमा पार्टीभित्रको एकतालाई बल पुग्ने उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले नबोलाएमा यसअघि माग भएकै निवेदनअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने उनको तेस्रो विकल्प हो ।
यी दुवैमा सहमति नभए नियमित महाधिवेशनलाई थप १५ दिन पछाडि सारेर पुस महिनामा गर्न सकिने उनले चौथो विकल्प अघि सारेका छन् । त्यसका लागि उनले पुस १६ देखि १९ सम्मको तालिका प्रस्ताव गरेका छन् । बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक अवसरमा महाधिवेशन गराउन उपयुक्त हुने उनको सुझाव छ ।
शर्माले निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मसौदा समिति तथा महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठनको निर्णय पनि चालु केन्द्रीय कार्यसमितिबाट गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
शर्माले फागुन २१ को निर्वाचनका लागि प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गरिनुपर्ने प्रस्ताव पनि गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम एक महिलासहित तीन जनाको नाम फागुन २१ का उम्मेदवारका रूपमा सर्वसम्म वा निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय राजनीतिलाई सही ट्र्याकमा ल्याउन सबै राजनीतिक दल र जेन–जी युवासँग संवाद गर्न तीन सदस्यीय कार्यदल गठन गर्नुपर्ने माग पनि उनले गरेका छन् ।
बैठक १ बजे सुरु हुने भनिए पनि महाधिवेशनको कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री द्वोय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गरिरहेका छन्। कार्यालयकाको विषयमा अनौपचारिक सहमति जुटेपछि मात्रै बैठक सुरु गर्ने योजना खड्काले बनाएका छन्।