— भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म ६ करोड २४ लाख रुपैयाँ मात्र संकलन भएको छ ।
सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले असोज ८ गते राष्ट्रिय वाणिज्य बैंकमा ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को नाममा बैंक खाता खोलेर स्वेच्छिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो ।
जसअनुसार व्यक्ति र संस्था गरेर करिब सवा ६ करोड रुपैयाँ बराबर सहयोग गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
कोषमा हालसम्म सहयोग गर्नेहरूमा संस्था कम र व्यक्ति धेरै रहेका छन् । रकमका आधारमा सबैभन्दा बढी डेढ करोड रुपैयाँसम्म संकलन भएको छ भने एक दर्जनभन्दा बढी व्यक्तिबाट एक रुपैयाँ प्राप्त भएको स्रोतले जनाएको छ ।
प्रदर्शनका क्रममा सरकारी र निजी दुवै क्षेत्रमा ठूलो क्षति भएको छ । क्षतिको आकलन अझै हुन सकेको छैन । यद्यपि अर्थ मन्त्रालयका अधिकारीहरूले सरकारी र निजी क्षेत्र गरी १ खर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक देखिएको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ८० अर्बभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको दाबी गरेको छ ।
यता सरकारले क्षतिको विवरण र पुनर्निर्माण लागतका लागि अध्ययनको काम सुरु गरेको छ । सो कामका लागि ४५ दिनको समय दिइएको छ ।