— खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ । विमानस्थल अधिकारीका अनुसार दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् ।
नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ ।
सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको विमानस्थलका एक अधिकारीले जनाएका छन् । त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।
आन्तरिकतर्फ, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ । ती अधिकारीका अनुसार हवाई मार्गमा देखिएको मौसमी अवरोध र न्यून दृश्यता नै उडान मोडिनुको प्रमुख कारण बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक झन्डै तीन सय उडानहरू (आन्तरिक र अन्तर्राष्ट्रिय गरी) सञ्चालन हुने गर्छन् । करिब तीस हजार यात्रु यहाँबाट आवतजावत गर्छन् । मौसममा सुधार आएपछि नियमित उडान सञ्चालन सुचारु हुने विमानस्थलले जनाएको छ ।