: सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी दिँदै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
अधिवक्ता विपिन ढकालले आइतबार आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्ध रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले आज दर्ता गरेको हो।अधिवक्ता ढकालले रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रुपमा कुनै पनि कार्य नगर्न/ नगराउन अन्तरिम आदेशको माग गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
तर, छानबिनको विषयसँग सम्बन्धित धारणा पहिले नै सार्वनजिक गरेको र पूर्वाग्राही देखाइसकेकाले उनीहरूको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने जिकिर रिट निवेदकको छ।
जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने निजी तथा सरकारी भौतिक संरचनामा व्यापक क्षति भएको छ।