। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा संकट पर्दा राष्ट्रपतिलाई आफूहरूले साथ दिए पनि कांग्रेस-एमालेले भने महत्व नदिएको बताएका छन् ।
सुकेधारामा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘घटनाक्रममले प्रष्ट बताएको छ । जुनदिनमा के हुन्छ ? के हुन्छ भन्ने देशको अवस्था थियो । फेरि प्रतिगामीहरू फर्किएर आउने हुन् कि भन्ने चिन्ता व्याप्त थियो । विदेशीहरूको खेल मैदान बन्छ कि भन्ने चिन्ता व्याप्त थियो । त्यस्तो बेला राष्ट्रपतिले हामीलाई सम्झना गरे । बोलाए । राति ९ देखि ४ बजेसम्म हामी राष्ट्रपति भवनमा थियौं । राष्ट्रपति, प्रधानसेनापति र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी हुनुहुन्थ्यो । कांग्रेसलाई बोलाइयो । एमालेलाई बोलाइयो । तर आएनन् । देशका ठूला भनेका शक्तिहरू थिएनन् । त्यसैले कसैले १० वटा नकारात्मक निराशाको कुरा गर्छ भने त्यसको दुई कौडीको पनि महत्व छैन ।’
‘संकटको त्यस समयमा हामीले संविधान बच्नु पर्छ । गणतन्त्र जोगाउनु पर्छ । राष्ट्रपति संस्थाको मानमर्यादा-सम्मान राख्नु पर्छ भन्यौं । र त्यो कुरालाई सबैले स्वीकार गरे,’ उनले अगाडि भने ।
संकटको समयमा आफूहरूले गरेको सहयोगबारे राष्ट्रपतिले पनि स्वीकार गरिसकेको उनले बताए ।
संकटपूर्ण अवस्थामा तपाईंहरूले खेल्नु भएको भूमिकाले मनोबल बढेको र प्रतिकूलतालाई चिर्ने आँट र सहास आफूमा आएको स्मरण राष्ट्रपतिले गरेको नेपालको भनाइ छ ।
उनले अगाडि भने, ‘…वार्तामा अहिलेका प्रधानमन्त्री सुशीला कार्की, जेनजीका एक जना प्रतिनिधिले राष्ट्रपति र प्रधानसेनापतिसँग वार्ता गरेका हुन् । वार्ताका सन्देशहरू हामी कहाँ आदनप्रदान भइरहन्थ्यो । हाम्रो कुराहरू पनि वार्तामा पुग्थे । संसद् विघटन गर्ने कि नगर्ने भन्नेमा धेरै बहस भए । कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा कुरा अड्कियो । हामीले सुशीला कार्कीलाई समर्थन जनायौं ।’