। जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचनाका आधारमा मात्र पदयात्रामा निस्कन पर्यटन विभागले पर्यटकलाई सूचित गरेको छ ।
मौसम विज्ञान विभागले १० देखि १२ कात्तिकसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको सूचना निकालेको थियो । यति हुँदा पनि विभिन्न स्थानमा आन्तरिक तथा वाह्य पर्यटक प्रभावित भएको खबर सार्वजनिक भएका छन् ।
विभागले पर्वतारोहण र पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री र पर्वतारोहीलाई उच्च सतर्कता अपनाउन भनेको छ । साथै, सुरक्षित स्थानमा रहन समेत सूचित गरिएको छ ।
पर्यटकलाई कुनै सहयोग र सहजीकरण आवश्यक परे स्थानीय सरकार, स्थानीय प्रशासन, पर्यटन विभाग र पर्यटक प्रहरीसँग सम्पर्क गर्न समेत भनिएको छ ।
अनुकूल मौसमको सुनिश्चितता भएपछि मात्र पदयात्रा र पर्वतारोहण गर्नसमेत सूचित गरिएको छ । विभागले विशिष्ट परिस्थितिमा सहुलियतपूर्ण मूल्यमा गुणस्तरीय सेवा र आतिथ्य दिएर सहयोग गर्न समेत आह्वान गरिएको छ ।
आजै नेपाल पर्यटन बोर्डले समेत एडभाइजरी जारी गर्दै मौसमी अवस्थाबारे सूचित गरेको छ । उता, नेपाल पर्वतारोहण संघ (एनएमए) ले समेत मौसमी सूचनाका आधारमा सुरक्षा सतर्कता साथ पदयात्रा गर्न आह्वान गरेको छ ।