— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं सभामा सोमबार अपराह्न भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँदिल्लीमा १०-१३ कात्तिकमा हुनेछ ।
आईएसएमा आबद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।
आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।