— सन्तानको दीघार्यूको कामना गर्दै तराई–मधेशमा विशेष हर्षोल्लासले मनाइने छठ पर्व ‘धार्मिक पर्यटन’को केन्द्र पनि बनेको छ । जलाशयको आकर्षक सजावटले जनकपुरमा झन् छठ पर्व हेर्न आउने आन्तरिक र बाह्य पर्यटकको भीड लाग्छ ।
सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई जलाशयबाटै अर्घ्य दिइनेछ । छठ पर्वका लागि जनकपुरको जलाशयलाई आकर्षक पण्डालले सजाइएको छ भने त्यहाँ लगाइएको बिजुलीको झिलिमिली बत्तीले जलाशयको सुन्दरता बढाएको छ । जनकपुरको गंगा सागर, धनुष सागर, अरगजा सर, बिडाल सर, रुकमिणी सरलगायतका पोखरीमा छठ पर्व मनाउने र हेर्नेको घुइँचो लागेको छ ।
संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सोमबार अपराह्न हवाई मार्गबाट जनकपुर आइपुगेका छन् । संघीय सरकारका तीनैजना मन्त्री साँझ जनकपुरको गंगा सागरको दक्षिणी डिलमा रहेको दुईतले घाटबाट छठ पूजाको अवलोकन गर्नेछन् । मन्त्रीहरूसँगै गृह सचिव रामेश्वर दंगाल पनि छठ पूजा हेर्न जनकपुर आइपुगेका छन् ।
यस्तै, नेपालका लागि इजरायलका राजदूत खनान गोडेर पनि छठ पर्व हेर्न जनकपुर आइपुगेका छन् । उनी सोमबार साँझ गंगा सागर पोखरीमा पुगेर छठ पूजा अवलोकन गर्नेछन् ।
जनकपुरको छठ पर्व हेर्न आउने पर्यटकले यहाँको होटल भरिभराउ छ । होटल वेलकमका सञ्चालक अभिषेक झुनझुनवालाका अनुसार भारत र जापानी पर्यटक ठूलो संख्यामा छठ पर्व हेर्न जनकपुर आएका हुन् । ‘करिब सबै होटल बाह्य पर्यटकले भरिभराउ छ,’ झुनझुनवालाले भने,‘जेन-जी आन्दोलनले छठ पर्व हेर्न आउने बाह्य पर्यटकमा केही कमी आए पनि अहिले आएका पर्यटकले आशलाग्दो व्यापार भएको छ ।’