: गाई गोरु लोड गरिएको पिकअपले उर्लाबारी–आमबारी सडक खण्डमा शनिबार दिउँसो सीटी सफारीलाई ठक्कर दियो। त्यो घटना दुर्घटना मात्रै सीमित रहेन। त्यसले गाई गोरुको भारततिर भइरहेको व्यापक तस्करीको धन्दालाई पर्दाफास गरेको छ। उर्लाबारीबाट तीव्र गतिमा सिजुवातर्फ जाँदै गरेको को २ च ८७५ नम्बरको पिकअपले रतुवामाई नगरपालिका–८ दाम्राभिट्टा बजारमा बाटो क्रस गर्दै गरेको प्र १–०१–००२ ह १९२६ नम्बरको सीटी सफारीलाई दिउँसो २:३० बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका सफारी चालक रतुवामाई–५ का ४४ वर्षीय कान्छा मियाँलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगियो। तर, मध्यम अवस्थाका उनले पूर्ण उपचारसमेत पाउन सकेनन्। सामान्य उपचारपछि गाई गोरु तस्करीमा संलग्नको दबाबमा डिस्चार्ज गरिएको प्रहरी स्रोतले बतायो। स्रोतले भन्यो, ‘सामान्य उपचारपछि मिलापत्र गर्नुपर्छ भनेर डिस्चार्ज गरिएको पाइयो। घाइतेलाई खाजा खर्च भनेर केही रकमसमेत दिएछन्।’
घाइते अवस्थाका मियाँले समेत स्वास्थ्यमा समस्या हुँदा पनि आफूले पूर्ण उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्। प्रहरीकै मिलेमतोमा सामसुम पार्न खोजिएको यो घटना स्थानीयले बाहिर ल्याइदिए। त्यति मात्रै हैन, आँखै अगाडि गाई गोरु तस्करी भइरहँदा अनेक डर र त्रासका कारण चुपचाप हेरेर बस्नुपर्ने बाध्यतामा रहेका स्थानीय अनि बोल्न थाले।
उनीहरुले खुलेआम गाई गोरु तस्करी भइरहेको विषय सार्वजनिक गरे। दुर्घटनालगत्तै पिकअप चालक फरार भएका थिए। पिकअप स्थानीयले नियन्त्रणमा लिए। त्यहाँभित्र कोचाकोच गरेर राखिएको अवस्थामा ६ वटा गाई गोरु फेला परे। स्थानीयले खिचेको भिडियो र फोटोमा पनि गाई गोरु कोचाकोच गरेर राखिएको दृश्य देख्न सकिन्छ। घटनापछि आक्रोशित बनेका स्थानीयले दाम्राभिट्टामा अन्य पिकअप गाडीहरु रोकेका थिए। त्यस क्रममा गाई गोरु लोड गरिएका अन्य २ वटा पिकअपलाई स्थानीयले नियन्त्रणमा लिए।
स्थानीयले प्र १–०१–००१ च ८७२४ र प्र १–०१–००१ च ८५६२ नम्बरको र दुर्घटना गराउनेसहित ३ वटा पिकअपलाई नियन्त्रणमा लिएर लोड गरिएका १८ गाई गोरुसहित प्रहरीको जिम्मा लगाए। एउटा गाई पिकअपभित्रै किचिएर मर्न लागेको अवस्थामा देखेपछि स्थानीयले डोरी काटेर बाहिर निकालेका थिए। ‘पिकअपभित्र कोचाकोच गरी निर्ममतापूर्वक यातना दिएर गाई गोरु ल्याइएको रहेछ,’ दाम्राभिट्टाका व्यवसायी नवीन अर्यालले भने, ‘स्थानीयले नियन्त्रणमा लिएर गाई गोरुसहित प्रहरीको जिम्मा लगाएका हुन्।’
शनिबारको दुर्घटनाले पूर्वी मोरङको विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा गाई गोरु भारततर्फ तस्करी भइरहेको रहस्यलाई बाहिर ल्याएको छ। लामो समयदेखि भारततिर गाई गोरु तस्करी भइरहेको थियो। दुर्घटनाले पर्दा पछाडिको ठूलो धन्दा बाहिर ल्याइदिएको हो। स्थानीयका अनुसार पूर्वी मोरङ र झापाका सीमावर्ती नाकाबाट दैनिक सयौं गाई गोरु भारततिर लैजाने गरिन्छ। उर्लाबारी–बरडंगा, उर्लाबारी–सिजुवा र उर्लाबारी–आमबारी मार्ग तस्करीका मुख्य बाटो बनेका छन्। स्थानीयका अनुसार तस्करीमा संलग्न गिरोहले अन्य सहायक मार्ग पनि प्रयोग गर्छन्।
स्थानीय भन्छन्, ‘गाईगोरु तस्करीमा ठूलो गिरोह सक्रिय छ। तर, नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै चासो दिएका छैनन्।’ पूर्वी र पश्चिम नेपालका विभिन्न स्थानबाट गाई गोरु ल्याएर सवारीसाधनको प्रयोग गरी भारत तस्करी भइरहे पनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदिएको गुनासो स्थानीयको छ।
स्थानीयका अनुसार दाम्राभिट्टाको बाटो हुँदै दिनमा सयौं गाई गोरु लैजाने गरिएको छ। ‘एउटा पिकअपमा ७ वटासम्म गाई गोरु लोड गरिएको हुन्छ। कोचाकोच र निर्ममतापूर्वक यातना दिएर पशु चौपायालाई राखिएको दृश्य एकदमै दर्दनाक देखिन्छ। त्यस्ता पिकअप दिनमा ५०–६० वटाभन्दा बढी चल्छन्,’ स्थानीय व्यवसायी अर्यालले भने। उनका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयले पिकअपमा आगजनी र तोडफोड गर्न खोजेका थिए।
‘दुर्घटना भएपछि अवस्था तनावपूर्ण हुने देखेर हामीले प्रहरीलाई खबर गरेका थियौं। वास्तै गरिएन। त्यतै मिलाउनु होला भन्ने जवाफ आयो। इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर वा अनुसन्धान अधिकारीलाई बोलाइयो। तर, कोही पनि आएनन्। त्यसपछि अस्थायी प्रहरी चौकी दाम्राभिट्टाबाट हवल्दारको टोलीलाई गाई गोरुसहित ३ वटै पिकअप जिम्मा लगाइयो,’ उनले भने। अर्यालका अनुसार स्थानीयले घटनाको भिडियो र फोटो खिचेका छन्।
गाई गोरु तस्करी नियन्त्रणका लागि स्थानीयले लामो समयदेखि आवाज उठाइरहे पनि सुनुवाइ नभइरहेको उनी बताउँछन्। ‘गाई गोरुको अत्यधिक मात्रामा भइरहेको तस्करी रोक्न चासो नदिनुले सुरक्षाकर्मीको भूमिका शंकास्पद देखिन्छ। उल्टै पैसा लिएर भारत कटाउन सहजीकरण गरिदिने गरेको कुरा आउँछ। गाई गोरु लोड गरिएको गाडीले दुर्घटना गराउँदासमेत प्रहरीले वास्तै नगर्नुका पछाडि धेरै रहस्य लुकेका छन्,’ व्यवसायी अर्याल भन्छन्, ‘स्थानीयले १० मिनेटको अवधिमा नै गाई गोरु लोड गरिएका ३ वटा पिकअप रोकेका थिए। यो बाटो हुँदै यस्ता गाडी दिनमा धेरै कुद्छन्। दैनिक ठूलो संख्यामा भारततिर गाई गोरु निकासी हुन्छ।’
चालकले गाई गोरु ओसारपसारको अनुमति एवं स्वीकृतिसँग सम्बन्धित कागजात देखाउन सकेनन्। तर, स्थानीयले नियन्त्रणमा लिएर बुझाएका पिकअप र गाई गोरुलाई भने प्रहरीले बिना कारबाही छाडिदिएको पाइएको छ। यसले गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीको भूमिका शंकास्पद देखिएको छ। स्थानीय र जनप्रतिनिधिहरू नेपाल एवं सशस्त्र प्रहरीले पैसा लिएर गाई गोरु तस्करीलाई खुलेआम सहजीकरण गरिरहेको आरोप लगाउँछन्। सुरक्षा निकायको भूमिका र कामकारबाहीले पनि उक्त आरोपलाई पुष्टि गर्छ।
इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले दुर्घटना गराउने गाडीलाई नियन्त्रणमा राखिएको र जरिबानासमेत गरिएको बताए।