: मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।
इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरेर परिचालन गरिएको हो। क्षतविक्षत अवस्थामा अंशुको शव फेला परेपछि सिंगो गाउँ स्तब्ध बनेको छ। दुई सातादेखि हराइरहेकी ती बालिकाको शव शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा फेला परेको थियो। टाउको र शरीर छुट्टिएको, कपडा खोलिएको र वरिपरि दुर्गन्ध फैलिएको दृश्य देख्दा स्थानीय र प्रहरी दुवै निस्पन्द बने।
अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी थिइन्। अभिभावकले खोजी सुरु गरेर प्रहरीलाई पनि खबर गरे। तर, उनको अत्तोपत्तो थिएन। दिन प्रतिदिनको प्रतीक्षा अन्ततः शुक्रबार एक भयावह यथार्थमा टुंगिएको छ। एउटा कुहिएको शव, जसलाई स्थानीयले घाँस काट्ने क्रममा देखेका थिए।
घाँस काट्न गएकाले दिउँसो करिब १:३० बजेतिर सडेर दुर्गन्धित भएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका थिए। दुर्गन्धले भरिएको घटनास्थलमा प्रहरीले शव वरिपरि कपडा र चप्पल फेला पारेको थियो।
‘शव अत्यन्त क्षतविक्षत अवस्थामा भेटियो। टाउको र शरीर छुट्टिएको छ,’ एसपी कटवालले भने, ‘प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग गरिएको देखिन्छ। तर, जंगली जनावरको आक्रमणबाट पनि मृत्यु भएको हुन सक्छ।’ घटनाको वास्तविकता अनुसन्धानपछि मात्रै प्रस्ट हुने बताउँदै उनले हत्या हो वा जंगली जनावरको आक्रमण भन्ने निष्कर्षमा पुग्न बाँकी रहेको सुनाए।
तर, घटनास्थलको दृश्य र भेटिएका सामग्रीले प्रहरीलाई अंशुको मृत्युसँग जोडिएको घटना सामान्य हो भन्ने संकेत दिएको छैन। उनले लगाएका ट्राउजर र हाफपाइन्ट तथा चप्पल खोलिएको अवस्थामा घटनास्थलमै फेला परेका छन्। घटना र घटनास्थलको वस्तुस्थितिले बलात्कारपछि उनको हत्या भएको आशंका बलियो बनेको प्रहरी स्रोतले बतायो।
शवको शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको छ। प्रहरीका अनुसार, पोस्टमार्टमपछि डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। ‘अभिभावकले शव अंशुकै भएको बताएका छन्। तर, डीएनए रिपोर्टले नै अन्तिम पुष्टि गर्नेछ,’ प्रहरीका एक अधिकृतले भने।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ की विद्यार्थी थिइन्। उनको परिवार विपन्न छ। बुबा–आमाको ज्याला मजदुरीको आम्दानीले मुस्किलले घर चल्थ्यो। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले भने, ‘सामान्य परिवारकी ती बालिका यस्तो अवस्थामै भेटिँदा सिंगो गाउँ स्तब्ध भएको छ। घटनाले हरेक अभिभावक र सिंगो गाउँमा त्रास सिर्जना गरेको छ।’
गाउँमा अहिले त्राससँगै आक्रोश पनि छ। स्थानीयले घटनालाई योजनाबद्ध हत्या भन्दै तत्काल दोषीको पहिचार र कारबाहीको माग गरेका छन्। वडाध्यक्ष तिम्सिनाले पनि घटनाको स्वरूप हेर्दा बलात्कारपछि हत्या भएको ठम्याउन सकिने बताए। ‘अंशु हराएको दिनदेखि नै खोजीमा हामी लागेका थियौं। तर, यस्तो रूपले भेटिन्छे भनेर कसैले कल्पना पनि गरेको थिएनौं,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेर परिचालन गरेको छ। टोलीले शनिबारदेखि घटनास्थल वरिपरिका बासिन्दासँग सोधपुछ, प्रमाण संकलन र शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन सुरु गरेको छ। तर, अनुसन्धान सजिलो छैन। प्रहरीलाई वास्तविकता पत्ता लगाउन निकै सकस परिरहेको छ।
प्रहरीका अनुसार शव अत्यधिक कुहिएको र फरेन्सिक प्रमाणहरू नष्ट हुन थालेका कारण वैज्ञानिक रूपमा सत्यतथ्य निकाल्न गाह्रो हुने देखिन्छ। अंशुको घर, विद्यालय, शिक्षक, सहपाठी र छिमेकीहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ। यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन। प्रहरीले प्रमाण संकलन गर्दै सम्भावित व्यक्तिमाथि सोधपुछ गरेर विस्तृतमा अनुसन्धान अघि बढाएको छ।
अंशुकी आमा बिना छोरीको क्षतविक्षत शव देख्नेबित्तिकै चिच्याएर रुन थालिन्। अहिलेसम्म उनको आँखा ओभाएका छैनन्। रुँदै उनले भनिन्, ‘हामी हरेक दिन उसको पर्खाइमा हुन्थ्यौं। फर्केर आउँछे भन्ने आशा थियो। यस्तो अवस्थामा भेटिन्छे भन्ने सोच्न पनि सकेका थिएनौं। जसले यो अपराध गर्यो, उसले हदैसम्मको सजाय पाउनुपर्छ।’ स्थानीयले पनि चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन प्रहरीलाई दबाब दिइरहेका छन्।
घटनाको यथार्थ पत्ता लगाउन र दोषीलाई सार्वजनिक गर्न उनीहरूले दबाब दिइरहेका छन्। यस्तो अपराधले सिंगो समाजमै हलचल ल्याएको वडाध्यक्ष तिम्सिना बताउँछन्। बालबालिकाको सुरक्षामा विद्यालय, समाज र स्थानीय सरकारले पनि जिम्मेवार बन्नुपर्ने आवाज उठिरहेको छ।
प्रहरीले भने घटनालाई अत्यन्त संवेदनशील मानेर अनुसन्धान अघि बढाइएको जनाएको छ। ‘पोस्टमार्टम, डीएनए र फरेन्सिक रिपोर्टपछि मात्रै ठोस निष्कर्षमा पुग्न सकिन्छ,’ एसपी कटवालले भने, ‘तर, घटनाको प्रकृति हेर्दा गम्भीर आपराधिक गतिविधिको संकेत मिल्छ।’ हालसम्म घटनासँग सम्बन्धित कुनै ठोस प्रमाण नफेला परे पनि प्रहरीले अनुसन्धानलाई तीव्र बनाइएको बताएको छ। अंशुका विद्यालयका साथीहरू, शिक्षक र गाउँलेहरू सबै उनका लागि न्यायको माग गरिरहेका छन्।
‘जतिसक्दो चाँडो घटनाको यथार्थमा पुगेर अपराधीलाई कानुनको कठघरामा ल्याउने छौं। तर, घटनास्थल र प्रमाणको अवस्थाले अनुसन्धानलाई केही जटिल बनाएको छ,’ प्रहरी स्रोतले भन्यो। अनुसन्धानमा देखिएका अनेक अप्ठेरा छिचोलेर प्रहरी अघि बढिरहेको र केही समयमै वास्तविकता पत्ता लाग्ने एसपी कटवालको भनाइ छ। अंशुका अभिभावक, आफन्त र स्थानीय भने न्यायको पर्खाइमा छन्।