: काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन गरेको छ।
शनिबार काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले हरेक वर्ष झैँ यस वर्ष पनि उपत्यकामा भव्य रूपमा छठ पर्व मनाउने विभिन्न आठ स्थानमा व्यवस्थापन गरिएको जानकारी दिएका हुन्।
कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खु कुमारी क्लबको अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठका लागि आवश्यक व्यवस्थापन गरिएको उनले बताए।
उनले उक्त स्थानमा केहिदिनदेखि सरसफाइ गरिरहेको र कुनै किसिमको समस्या भए महानगरमा सम्पर्क गर्न आग्रह गरे।
छठ पर्व मनाउने स्थानमा सवारी साधन पार्किङ नगर्न आग्रह गर्दै उनले उक्त स्थानहरूमा साढे तीन सयको संख्यामा सरसफाइ कर्मचारीका साथै महानगर प्रहरी परिचालन गरिएको जानकारी दिए।
तराईमा मनाइने छठ पर्व अहिले हिमाल र पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा सिँगारिएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ।