: सुनसरीको झुम्का कारागारबाट गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर गते फरार भएका ११ जना कैदीहरूलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले फरार कैदीहरूलाई विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरी झुम्का कारागारमै पठाइएको बताए।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी सञ्जय भनिने ज्ञानेन्द्र विश्व ज्यान मुद्दामा सजाय भोगिरहेका थिए। उनी कारागारबाट फरार भएपछि प्रहरीले धरान र इनरुवा क्षेत्रमा खोजतलास गरी नियन्त्रणमा लिएको हो। त्यसैगरी रामधुनी नगरपालिका–४ का निलम चौधरी चोरी मुद्दामा सजाय भोगिरहेका थिए। उनलाई पनि प्रहरीले बराहक्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
लागूऔषध मुद्दाका उदयपुरको बेलका नगरपालिका–२ का नवराज खत्री, बराहक्षेत्र-७ का अनिल राजवंशी,विश्वराज राई, मनिक राई, फडिन्द्र राई र भोजपुरको हतुवागढी गाउँपालिका–९ घर भई हाल बराहक्षेत्र नगरपालिका–७ बसोबास गर्दै आएका कुमार राईलाई पनि पक्राउ परेका छन्।
जबरजस्ती करणी उद्योग मुद्दामा सजाय भोगिरहेका सप्तरीको कन्चनरुप नगरपालिका–५ का रजेश मल्लाह, बराहक्षेत्र-७ का कृष्ण साह, विनोद ऋषिदेवलाई पक्राउ गरी झुम्का कारागार पठाइएको छ।
वराहक्षेत्रमा विशेष सर्च अपरेसन सञ्चालन गरी फरार कैदी पक्राउ गरिएको प्रहरी निरीक्षक दिवस कुँवरले बताए।