— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले छठपछि विश्वासको लिने भएका छन् ।
सत्ता साझेदार दलहरु शुक्रबार बैठक बसेर छठपछि विश्वासको मत लिएर मन्त्रालय बाँडफाँट गर्ने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराईले छठ सम्पन्न भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार यसका लागि सभामुख रामचन्द्र मण्डलसँग परामर्शपछि मिति यकिन हुनेछ ।
‘सक्दो चाँडो विश्वासको मत लिएर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ,’उनले भने,‘यकिन मिति अहिले तय भएको छैन । विश्वासको मत पाएपछि मन्त्रालय बाँडफाँट गरिन्छ ।’
सरकार गठनअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले चार, जनमत पार्टीले चार, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले २/२ मन्त्रालय लिने अनौचारिक सहमति भएको थियो ।
सोनल पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका छन् । उनलाई जसपा नेपालका १९, माओवादीका ९, एकीकृत समाजवादीका ७, लोसपाका ८ र जनमत पार्टीका १३ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तर, सोनल मुख्यमन्त्रीको शपथग्रहण गर्नुअगावै जनमत पार्टीका २ सांसद पार्टीबाट छुट्टिएर जनस्वराज रोजेका थिए भने जसपाका १ सांसद निलम्बनमा परेका थिए ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०४ जना प्रदेशसभा सदस्य छन् । ३ जना प्रदेशसभा सदस्यमध्ये लोसपाका अभिराम शर्मा, एमाले र जसपा नेपालका १/१ जना प्रदेशसभा निलम्बित छन् ।
जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री रहेका सतिशकुमार सिंहले राजीनामा दिएपछि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको भोलिपल्ट सोनलले मुख्यमन्त्रीमा र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव तथा नेकपा एसका प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।