— भक्तपुरमा विश्व सम्पदा क्षेत्र अवलोकन लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
ऐतिहासिक जीवित संग्रहालयको रुपमा रहेको पुरानो सहर भक्तपुरमा यहाँका मठमन्दिर, कला, संस्कृति, रहनसहन, जीवनशैली तथा सम्पदा अवलोकनका लागि आउने अन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढेको हो । यस आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै विभिन्न देशका १९ हजार ३ सय १८ पर्यटकले भक्तपुर भ्रमण गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । भक्तपुरमा दैनिक सरदर ९ सय ५० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अहिले पर्यटकीय सिजन भएकाले दैनिक भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
यस महिनाको ६ दिनमा मात्रै ५ हजार ७ सय १८ विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेको भक्तपुर नगरपालिकाको पर्यटन सूचना केन्द्रको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै २ लाख ४४ हजार ८ सय ६८ विदेशी पर्यटक विश्व सम्पदास्थल अवलोकन गरेको तथ्यांक केन्द्रले दिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख आयस्रोत नै पर्यटन शुल्क हो । यहाँ घुम्न आउने विदेशी पर्यटकसँग नगरपालिकाले विभिन्न १४ पर्यटन सेवा केन्द्रबाट प्रवेश शुल्क लिने गरेको नगरप्रमुख प्रजापतिले बताए । सार्क राष्ट्र र चिनियाँ पर्यटकसँग ५ सय प्रतिव्यक्ति र गैरसार्क राष्ट्रका पर्यटकसँग २ हजार रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क लिने गरेको नगरप्रमुख प्रजापतिले बताए । पर्यटक शूल्कबाट नगरको सम्पदा संरक्षण र पुनर्निर्माण, सांस्कृतिक नाचगान तथा बाजागाजा प्रशिक्षण, नगर सरसफाइ, सांस्कृतिक गुरुहरु सम्मान, परम्परागत घर निर्माण गर्ने, घरधनीलाई ३५ प्रतिशत वा बढीमा ३ लाख रुपैयाँसम्म अनुदान, शिक्षा, स्वास्थ्य र विकासका लागि खर्च गरिएको नगरप्रमुख प्रजापतिको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा मात्रै पर्यटक प्रवेश शुल्कबाट मात्रै २७ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । भक्तपुरमा अमेरिका जर्मन, फान्स, बेलायत, भारत र चीनबाट धेरै पर्यटक आउने गरेका छन् ।