: भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग भिड्दै छ। खेल भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ।
सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ। पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो।
पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो। भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो। फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ।
नेपाली टोलीमा कप्तान भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन्। त्यस्तै प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन्।