: नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले मधेशमा जनस्तरका कार्यकर्तालाई एकताबद्ध गर्न नसकेकै कारण पार्टीले गत निर्वाचनमा सोचेअनुरूप मत प्राप्त गर्न नसकेको धारणा राखेका छन्।
बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनका लागि पार्टीले योजनाबद्ध तवरले हरेक पक्षलाई समेटेर अगाडि बढ्ने किसिमले रणनीति तय गरिने स्पष्ट पारेका छन्।
प्रचण्डले जेनजी युवापुस्ताको ज्याज माग पुरा गर्न र राष्ट्रलाई नयाँ आयामबाट अगाडि बढाउनका लागि निर्वाचनको विकल्प नरहेको बताए। उनले वर्तमान समयमा उठाएको माग माओवादीले पहिल्यैदेखि उठाउँदै आएको बताए।
उनले भने,ʻमेरै नेतृत्वको सरकारले मिटरव्याजी, भ्रष्टाचारको मुद्दा, सुशासन अनि सामाजिक न्यायको पक्षमा उभिएको थियो। सोही क्रममा अनेकन् मजदुर, किसान, दलित, शोषित, पीडितको माग सम्बोधन भएका थिए। नेतृत्वको चर्चा चलेकै समयमा केही तत्त्वलाई अपचे भएपछि हाम्रो सरकार नै ढल्यो। अनि बाँकी रहेको मुद्दाहरू अहिले पनि यथावत् नै छ।ʼ
संयोजक प्रचण्डले जेनजी आन्दोलनले राष्ट्रलाई व्यापक क्षति भएको बताए।