: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन्।
बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका हुन्।
गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उनले बताए।
अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै अध्यक्ष ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे।
त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्त्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे। सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भएपनि उनीहरूलाई सरकारले कारबाही समेत गर्न नसकेको आरोप लगाए।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्त्वपूर्ण सामानहरू लुटिएको बताए।