: सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरजब्दीमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार बुधबार राति करिब १:३० बजे सिटि रिक्सामा गाँजा ओसारपसार भइरहेको जानकारी पाएपश्चात प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटिलाई पछ्याउँदै गएको थियो । सोही क्रममा वडा कार्यालय नजिक सिटि छाडेर चालक फरार भएको र कानुन बमोजिम गरिएको चेकजाँचमा ४ बोरा प्रतिबन्धित गाँजा बरामद गरिएको खतिवडाले बताए ।
बरामद गरिएको गाँजाको तौल १२३ किलो १५ ग्राम रहेको छ । घटनास्थलमै सवारीसहित भारतको सुपौल जिल्ला, तिरगंज निवासी २० वर्षका मोहमद ईम्तियाज मियाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
डिएसपी खतिवडाले पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताए । उनले तिहारका अवसरमा प्रहरीको आँखाछली भारत–नेपाल सीमाबाट गाँजा तस्करी गर्न खोज्ने समूह सक्रिय रहेको भन्दै सीमाक्षेत्र र राजमार्ग क्षेत्रमा निगरानी थप कडा पारिएको बताए ।