: पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपील गरेका छन्। बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति रहेको बताएका हुन्।
शुभकामना सन्देशमा उनले सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ। हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ। राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं। राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं। सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना’