। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई चट्याङको संज्ञा दिएका छन् ।
सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयको प्राङ्गणमा पत्रकारहरूसँग कुरा गर्दै शिक्षामन्त्री पुनले जेनजीयुवाहरुको आन्दोलन आँधिहुरीपछि परेको चट्याङ जस्तै भएको तुलना गरे ।
उनले भने, ‘अहिले अवस्था भनेको संक्रमणकालीन अवस्था हो। जेनजी आन्दोलन भनेको चट्याङै हो। यसलाई चट्याङसँग तुलना गर्न सकिन्छ। अहिलेको ठाउँमा यो चट्याङ हजार वर्षपछि पनि नआउन सक्छ। त्यसकारण जेनजी आन्दोलन चट्याङ हो, त्यो भन्दा अर्को होइन। अब कहिले पर्छ थाहा छैन।तर, नेपालमा जेनजी आन्दोलनको रुपमा एउटा चट्याङ आयो। चट्याङले अलिकति विध्वंस गर्यो। यो सय वर्षमा आउन पनि सक्छ नआउन पनि सक्छ।’
उनले यस्तो विषम अवस्थामा राष्ट्रलाई सहयोग गर्न आफू मन्त्री बन्न बाध्य भएको बताए । उनले भने, ‘ यो कसैले यो गर भन्दा गर्ने, नगर भन्दा नगर्ने प्रकारले म मन्त्री भएको होइन। यो मैले स्वविकेले निर्णय लिएको हो।’
उनले आगामी चुनावमा आफ्नो कुनै मनसाय नराखेको र व्यक्तिगत रुपमा ६ महिनापछि आफू फेरि किताब बेच्न जाने कुरा दोहोर्याए। उनले भने, ‘व्यक्तिगत रुपमा मेरो केही मनसाय छैन। ६ महिनापछि म फेरि किताब बेच्न जान्छु।’
तपाई पार्टी खोल्नुहुन्छ कि नाइ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले उल्टै प्रश्न गरे, ‘ पार्टी खोल्न त यही कात्तिक ३० गतेभित्र खोल्नुपर्छ। म त ६ महिनापछि किताब बेच्न जाने हो। अब आफै भन्नुस त ? ‘
लगत्तै तपाई जुत्ता लगाउनु सक्नुहुन्छ तर किन मन्त्री हुँदा पनि चप्पलमै बस्नुहुन्छ ? के यो लोकप्रियतावाद हो तपाईको भन्ने प्रश्नमा मन्त्री पुनले जवाफमा भने, ‘ ए ! साथीहरू त हावा रहेछ उसोभए। मैले बारम्बार भनिरहेको छु की मेरो आत्मकथा पढ्नुस्। मैले १४ वर्षको उमेरमा मेरो बाबाले किनिदिँदा चप्पल देब्रे र दाँहिने खुट्टाको नचिनेर धेरै दु:ख पाएको छु। त्यो कुरा मैले आत्मकथामा लेखेको छु। तर किताब बिक्छ की भनेर पनि होइन।’
उनले आफू सम्पन्न परिवारमा नहुर्किएको र आम जनतालेजस्तै ‘दु: ख काटेर आएकाले मलाई जुत्ताभन्दा चप्पल नै सजिलो भएकाले यही नै लगाएको बताए ।
‘ मैले बाल्यकालदेखि नै चप्पल लगाएर आएको हुँ। अहिले पनि चप्पल लगाउँदा नै सजिलो भएकाले मैले जुत्ता लगाएर आडम्बरीपना देखाउन मन लागेन,’ उनले भने, ‘ जसरी तपाईहरूलाई चप्पल लगाएर हिड्दाखेरी अप्ठ्यारो लाग्छ, त्यसरी नै मलाई जुत्ता लगाएर हिड्दा अप्ठ्यारो लाग्छ। त्यसकारण मैले जुत्ता भन्दा चप्पल नै लगाएको हुँ। त्यही हो कुरो।’