: सार्वजनिक भवनहरु जोगाउन नसकेको भन्दै सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई नियन्त्रणमा लिएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।
तर उनले पूर्व विवरण बताउन भने इन्कार गरे। बस्नेतले उनीहरुमाथि थप अनुसन्धान बाँकी रहेकाले हाललाई जानकारी दिन नमिल्ने बताए।
उनले अन्नपूर्णसँग भने, ‘सैनिक मुख्यालयले संवेदनशील क्षेत्रमा खटाएका नेपाली सेनाका कमाण्डरलाई नियन्त्रणमा लिएको छ। उक्त घटनामा के कसो भएको हो बुझ्न २/३ जना कमाण्डरलाई हेडक्वाटर झिकाइएको हो।’
जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालयको भवन, अदालत जोगाउन नसकेको भन्दै नेपाली सेनाको आलोचना हुँदै आएको छ। आलोचना बढेपछि सेनाले छानबिन अगाडि बढाइएको हो। सहायक रथी बस्नेतले अन्नपूर्णसँग भने, ‘अन्य कमाण्डरहरुमाथि पनि छानबिन हुनसक्छ। त्यसबारेसमेत अध्ययन भइरहेको छ।’
अदालतका कर्मचारीले ४/५ जना सैनिक बसेको भएपनि न्यायालयका भवन जोगाउन सकिने अवस्था रहेको बताएका थिए। १०/१५ जना प्रदर्शनकारीले अदालतमा आगजनि गरेकाले सेनाको उपस्थितिले पनि प्रदर्शनकारी हच्किने उनीहरुले बताएका थिए।