: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्व खारेज गर्नुपर्ने माग गरेका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विप्लवले जेनजी विद्रोहले सरकार, संसद् विघटन भएपनि राजनीतिकरुपमा उद्देश्य पूरा गर्न जेनजी विद्रोह असफल भएको बताएका हुन्।
उनले भने,‘जेनजीले जे माग उठाएका थिए, ती वास्तविक माग थिए । दुई दिनमा सरकार, संसद् विघटन पनि भयो। तर राजनीतिकरुपमा उद्देश्य पूरा गर्न जेनजी विद्रोह असफल भयो । अन्तरिम सरकार गठन भयो तर जेनजीले उठाएका माग पुरा भएन । संसद भंग गरेर नयाँ सरकार त बन्यो बरु नयाँ षडयन्त्र देखियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार छ । यो रहश्यमय रुपमा बनेको छ। यो सरकारको पक्षमा कोही छैन। स्वयम् जेनजीले पनि स्वीकारेका पनि छैनन् र उनीहरु सहभागी पनि छैनन्।’
यसले अर्को विद्रोह र अराजकतामा जाने खतरा देखिएको बताए। ‘निर्वाचन प्रणाली, राज्यको शासकीय स्वरूप, संविधानको पुनर्लेखन लगायत एजेन्डा पुरा गर्न जेनजी विद्रोह असफल भएको हाम्रो पार्टीको निष्कर्ष छ’, उनले भने यो सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ। त्यसमा जेनजीको पनि सहभागिता गराउनुपर्छ। नेकपासहितका राष्ट्रिय स्वाधिनताका लागि लड्ने राजनीतिक शक्ति पनि सहभागी हुनुपर्छ। र त्यसबाट संविधान संशोधन गरिनुपर्छ। जेनजीहरुलाई समेत समेटेर प्रत्यक्ष कार्यकारी निर्वाचन, निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ ।’
उनले जेनजीको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने बताए। विप्लबले भ्रष्टाचार छानबिनका लागि छुट्टै अदालत गठन गर्नुपर्ने धारणा राखे।
नेकपाले चुनावमा भाग लिन चाहेपनि सुरक्षा नभएको उनको भनाई छ। सुशिला कार्कीको सरकारले चुनाव गराउने हैसियत नराख्ने बताइन्।जेनजी विद्रोहका आपराधिक क्रियाकलापमा भाग लिनेलाई सरकारले पक्राउ गर्न नसकेकाले स्वच्छ निर्वाचन हुन नसक्ने उनले दाबी गरे।