: सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उनले प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुने जिकिर गरे । जेनजी आन्दोलनपछि अझै पनि चार सय हतियार रिकभर हुन बाँकी रहेको अवस्थामा हतियार रिकभर गर्न विशेष कार्यक्रम चलाउने उनले बताए। त्यस्तै उनले भागेका कैदीबन्दी फिर्ता ल्याउन थप कार्यक्रम ल्याउने जानकारी दिए।
उनले आन्दोलनका क्रममा हराएका हतियारहरू संगठित गिरोहमा पुग्न नदिने उल्लेख गरे । राजनीतिक दलले पनि कैदीबन्दी र हतियारलाई प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ ।