: बाराको बंगरी नदीमा रिलायन्स सुगर इन्डष्ट्रिज (चिनी मिल)ले गर्दै आएको प्रदूषण रोक्न माग गर्दै युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
आइतबार बाराको कलैया उपमहानगरपालिकाको मनगढवा, फेटा गाउँपालिकाको अकवनीया र भलुही तथा प्रसौनी गाउँपालिकाको गोइठी गाउँका युवाहरूले बाराका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।
बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर मिलले उद्योगबाट निस्कने फोहोर र रसायनयुक्त पानी सिधै बंगरी नदीमा मिसाउने गरेका कारण नदी प्रदूषित भएको र त्यसबाट गाउँमा दुर्गन्ध फैलनुका साथै विभिन्न किसिमका रोगको संक्रमण देखा पर्दै आएको छ। नदीको प्रदूषणले ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँहरू प्रत्यक्ष प्रभावित भएको त्यहाँका युवाहरूको भनाइ छ।
अहिले छठ पर्वका बेला प्रदूषित नदीमै श्रद्धालु भक्तजनहरूले अर्घ दिनुपर्ने बाध्यता पनि देखिएकाले नदीको प्रदूषण तत्काल रोकेर नदी प्रदूषण गर्ने रिलायन्स सुगर मिललाई प्रचलित कानुन अनुसार कारबाही गर्नु पर्ने माग उनीहरूले गरेका छन्। समुदायको स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय भएकाले आफूहरूले नदीको प्रदूषण रोक्न प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई गुहारेको फेटा–१ का मनिष कुशवाहाले बताए।
नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा हानिकारक फोहोर पानी नदीमा बगाउन नपाइने स्पष्ट व्यवस्था गरेको हुँदा यस बारेमा जिल्ला प्रशासन कार्यालयले पहल थाल्नुपर्ने आफूहरूको माग रहेको उनले बताए। यदि स्थानीय प्रशासनले आफूहरूको मागप्रति बेवास्ता गरेको खण्डमा शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू घोषणा गरेर सडकमा उत्रिने चेतावनीसमेत युवाहरूले ज्ञापनपत्रमार्फत दिएका छन्।