। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने मत बलियो देखिएको छ ।
शुक्रबारको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । बिहीबारको बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यहरू पनि नियमितकै पक्षमा थिए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबारको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै तत्काल महाधिवेशनमा जानुपर्नेमा जोड दिए । उनले कुनै पनि बहानामा मिति सार्न नमिल्ने जिकिर गरे ।
‘अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशनको म्याद थप्ने विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने भएकाले त्यसतर्फ सोच्नु हुँदैन,’ उनले ११औँ महाधिवेशन ६० दिनमा सम्पन्न भएको स्मरण गराउँदै भने, ‘यो अवस्थामा सजिलै महाधिवेशन गर्न सकिन्छ ।’
नेता पौडेलले जेनजी विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने बताए ।
‘यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ,’ पौडेलले भने, ‘नवयुवाको प्रवेश बढ्नेछ । यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ ।’
केन्द्रीय सदस्य डा. डिला संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखिसकेकाले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।
‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाइसक्नुभएको छ । उहाँहरूको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंसिर महिनाभित्रै नियमित १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ,’ उनले भनिन् ।
महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेका उपलब्धिहरूसँगै कमी-कमजोरीबारे व्यापक समीक्षा गरिनुपर्ने नेतृ संग्रौलाको भनाइ थियो ।
अर्का केन्द्रीय सदस्य जीपछिरिङ लामाले मंसिर मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले मंसिरमा सम्भव नभए पुस १५ भित्र सम्पन्न हुनेगरी कार्यतालिका ल्याइनुपर्ने बताए ।
‘विशेष महाधिवेशनले पार्टीमा फुट ल्याउन सक्नेतर्फ सचेत हुनु जरुरी छ । नियमिततर्फ नै जानुपर्छ,’ लामाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सकेसम्म समयमै गरौँ । हाम्रो समय भनेको मंसिर मसान्त हो । नभए पुस १५ भित्र गर्ने गरी अघि बढौँ ।’
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकिसकेको अवस्थामा महाधिवेशन गर्ने सम्पूर्ण जिम्मेवारी केन्द्रीय कार्यसमितिमा रहेका सबैको जिम्मेवारी भएको उनले बताए ।
‘सभापतिले कार्यवाहक दिइसकेपछि अब के गर्ने, कसरी गर्ने हाम्रो जिम्मेवारी हो,’ लामाले भने, ‘महामन्त्रीहरू पनि लचिलो हुनुपर्छ । विशेष भनेर हुँदैन । पार्टीलाई बलियो बनाउन सबै एकढिक्का हुन जरुरी छ ।’
बैठकलाई आमन्त्रित सदस्यका रूपमा सम्बोधन गरेका विभिन्न प्रदेशका सभापतिहरूले जेनजी आन्दोलनका मागहरू सम्बोधन हुनेगरी पार्टीमा युवापुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका नेताहरूको भनाइ छ ।
शुक्रबारको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ-आफ्नो धारणा राखेका थिए ।
धारणा राख्ने क्रममा गण्डकी सभापति शर्माले २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनपछि सार्नुपर्ने विषयको उठान गरेका थिए । सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने उनको दाबी थियो ।
‘फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन,’ गण्डकी सभापति शर्माले भने, ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ । वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउँछ ।’
केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीका भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएको टिप्पणी गरे । ‘हाम्रा भ्रातृ संगठनहरू वर्षौंदेखि ग्यारेजमा थन्क्याइएका गाडी जस्ता भएका छन्,’ उनले भने, ‘अब पुरानै तरिकाले न पार्टी चल्न सक्छ, न भ्रातृ संगठन ।
भ्रातृ संगठनका समिति विघटन गरेर स्पष्ट मापदण्ड तयार गरी नयाँ तरिकाले अगाडि बढाइनुपर्ने नेता कोइरालाको भनाइ थियो । उनले पार्टीभित्र अब आमूल सुधार र रुपान्तरण गरिनुपर्नेमा जोड दिए ।
‘महाधिवेशनबाट हामीले आमूल सुधार र रुपान्तरण गर्नैपर्छ,’ कोइरालाले भने, ‘तसर्थ, पार्टी रुपान्तरण हरेक कार्यकर्ताको दायित्व भएको छ, यसमा सबै गम्भीर जिम्मेवार बन्नुपर्छ ।’
केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले कांग्रेसले कम्युनिष्टको एजेन्डा बोकेको टिप्पणी गरे । ‘फोटो बीपीको राख्ने एजेन्डा कम्युनिष्टको बोक्ने,’ उनले प्रश्न गरे, ‘अनि हामी कसरी कांग्रेस हुन्छौँ ?’
गौतमले पार्टीको विधान गैरसरकारी संस्थाको मोडलमा बनाइएको समेत आरोप लगाए । ‘एनजीओको मोडेलमा पार्टीको विधान बनायौँ । के यो विधानले हाम्रो पार्टी सुध्रियो ?,’ उनले प्रश्न गरे ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपालीले धारणा राखेका थिए ।
यस्तै केन्द्रीय सदस्यहरू गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह र आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ-आफ्नो धारणा राखेका थिए ।
बैठकमा केही केन्द्रीय सदस्यहरूले महाधिवेशन प्रतिनिधिहरूले विधानमा भएको व्यवस्थाबमोजिम माग गरेको विशेष महाधिवेशनलाई हल्का रूपमा नलिन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएका थिए ।
‘समयमै नियमित महाधिवेशन गर्दा मात्रै विषेश महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको माग सम्बोधन हुनसक्ने भएकाले उनीहरूको मागलाई बेवास्ता गर्न नहुने केही सदस्यहरूले खड्कालाई सचेत गराएको एक नेताले जानकारी दिए ।
२८ असोजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार दोस्रो दिनबाट एजेन्डासहित छलफल सुरु भएको हो । शुक्रबारको बैठकमा विभिन्न १० वटा प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले केन्द्रीय कार्यसमितिको बैठक १ कात्तिक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा पुनः बस्ने बताए ।