: पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँशक्ति)का संस्थापक डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापनाको मुद्दामा अल्झिनुको कुनै अर्थ नरहेको बताएका छन्।
शुक्रबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा चालिएको कदमको विपक्षमा उत्रिनुको कुनै औचित्य नरहेको बताएका हुन् ।
‘आन्दोलनको बलमा उत्पन्न विशिष्ट परिस्थितिमा संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न जुन कदम चालिएको छ, यो अहिलेको आवश्यकता हो। आवश्यकताको सिद्धान्तमा टेकेर गरिएको निर्णयको विरुद्धमा पर्ने मुद्दाहरूलाई हेर्नु उपयुक्त हुँदैन’, उनले भने, ‘संसद् पुनर्स्थापनाले समस्या समाधान गर्दैन, बरु झन् गिजोलिन्छ।’
भट्टराईले निहित स्वार्थका लागि सचेत वर्गले समस्या गिजोल्यो भने झन् परिस्थिति बिग्रिने र यसमा अवाञ्छित तत्त्वहरूले खेल्ने मौका पाउने बताए। परिवर्तनकारी जेनजीको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्ने मान्यता आफूले राखेको भन्दै उनले तत्कालका लागि यो सरकारको विकल्प नरहेको दाबी गरे।
भट्टराईले आन्दोलनकारी शक्ति र राजनीतिक दलसँगै जानु अहिलेको आवश्यकता रहेको बताए।