: नेकपा एमालेले सरकार नै निर्वाचनविरोधी गतिविधिमा लागेकाले प्रतिनिधिसभा पुनःस्थापना गराउनुपर्ने सुझाव दिएका छन्। निर्वाचन आयोगसँगको छलफलमा एमालेले वर्तमान सरकार असंवैधानिक तरिकाले बनेको आरोप पनि लगाएको छ।
'जनतामा पुगेर जनादेश प्राप्त गर्ने कुरामा एमाले सधैं तयार रहन्छ। तर, जब असंवैधानिक तरिकाले सत्ता कब्जा गरेका व्यक्तिहरूले निर्वाचन विथोल्ने र समयमा निर्वाचन नगर्ने उद्घोष सार्वजनिक रूपमा गर्छन्, त्यस अवस्थामा पहिलेको म्यान्डेट सक्रिय गर्नुको विकल्प हुँदैन भन्ने विषयमा हामी सजग र दृढ छौं,' सुझावमा भनिएको छ।
लोकतान्त्रिक गणतन्त्र दलहरूले ल्याएको र जनताले रोजेको व्यवस्था भएको एमालेको भनाइ छ। 'जसरी खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन गर्न मिल्दैन, त्यसैगरी निर्वाचन सुरु भइसकेपछि निर्वाचनसम्बन्धी कानुनमा फेरबदल वा परिवर्तन गर्न मिल्दैन। संविधान तथा कानुनअनुसार मात्र निर्वाचनका सबै प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा हामी दृढ छौं।
आवधिक निर्वाचनमार्फतै जनताले आफ्ना प्रतिनिधि छान्ने र त्यसबाट निर्माण भएको सरकारद्वारा मुलुकको शासन सञ्चालन हुने नियम हामीले निर्माण गरेका हौं,' एमालेले भनेको छ।
सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआइबीलगायत संवेदनशील निकाय र राजनीतिक दलहरूको कम्प्युटर हार्डडिस्क र डिजिटल डाटा चोरी गर्ने, डिजिटल सामग्री दुरुपयोग गर्ने विदेशी एजेन्टहरूको खोजी हुनुपर्नेमा त्यसतर्फ अनुसन्धान हुन नदिइएको एमालेको भनाइ छ।