: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशनबाट मात्रै सबैको माग सम्बोधन गर्न सकिने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै नेता कोइरालाले महामन्त्रीले मंसिरको कार्यतालिका सार्वजनिक गर्नुपर्ने सुझाव पनि दिए।
उनले अन्य राजनीतिक दलले मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेकाले कांग्रेसले पनि मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने बताए।
'अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु, 'कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी' बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्युले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु। सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव छ,' उनले भने।
उनले 'विशेष महाधिवेशन'को सन्दर्भमा उठेका विषयहरू पार्टीलाई ऊर्जा प्रदान गर्नेरूपमा आफूले बुझेको बताए। 'यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डीमात्र भएर आएको छैन। सही अर्थमा कांग्रेस देशको परिवर्तनको बाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ। हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौं भन्ने मेरो दृढ विश्वास छ। महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने 'राष्ट्रिय निर्वाचन'लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ,' बैठकमा नेता कोइरालाले भने। उनले पार्टीभित्र एकताको खाँचो रहेको बताउँदै सबैमा 'विन-विन'को भावना विकास गर्नुपर्ने बताए।