: नेपाली कांग्रेसका १४औँ महाधिवेशन प्रतिनिधिहरूले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।
बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो।
कांग्रेस नेता गुरुराज घिमिरेले १४औँ महाधिवेशनका २२ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिए। विधानको धारा १७ (२) बमोजिम महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान रहेको उनले बताए।
नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफूहरूको हस्ताक्षर निवेदनका विषयमा उचित निर्णय लिने धारणा राखे। उनले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले वैधानिक रूपमा महाधिवेशन गर्न आफूहरूले बाटो खोलिदिएको तर्क गरे।
घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफूहरूको मत रहेको उल्लेख गरे। यसअघि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका युवा नेताहरूले हस्ताक्षर अभियान चलाएका थिए।