: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिको सामना पार्टी एकजुट भएर गर्नुपर्ने बताएका छन्। बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय मुद्दा र त्यसमा अडान राखेको मन नपरेको शक्तिहरू एमाले विरुद्ध लागेको दाबी गरेका हुन्।
उनले एमालेले नराम्रो काम गरेको कारण नभई राम्रो काम गरेको कारण आक्रमण भएको उल्लेख गरे। ओलीले आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना भएको बताए। ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ, त्यसबाट प्रतिक्रान्ति तर्फको। हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ। यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ।’ उनले भने, ‘जेन–जीले अहिले पनि संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन्। आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ।’
उनले सिङ्गो पार्टी एकताबद्ध नभई अहिलेको चुनौती सामना गर्न नसकिने बताए। ओलीले पार्टीको आधिकारिक संरचनाले गर्ने निर्णय आफूले मान्ने बताए। ओलीले भने, ‘यस परिस्थितिको सामना गर्ने भनेको हाम्रो आन्तरिक एकता नै हो, त्यस कारण बट इफको कुरा छैन। म केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु, एकताबद्ध पार्टी भएर अगाडि बढाऔं।’
अध्यक्ष ओलीले कसैले फेसबुकबाट भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने उद्घोष गरे। ओलीले भने,‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ। यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु।’ उनले केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने आफूलाई मान्य हुने बताए।
कमिटीभन्दा बाहिर गएर लोकप्रियतावादको पछि नदौडिन उनले आग्रह गरे।