: माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार थुनछेक बहसपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
सुन तस्करी प्रकरणमा महरा गत आइतबार पक्राउ परेका थिए। तारेखमा रिहा भएका उनी त्यसअघि २०८० साल चैत ५ गते भैरहवाबाट पक्राउ परेका थिए। पछि सीआईबीका अनुसन्धान अधिकृतको सिफारिसका आधारमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानतामा छोडेको थियो।
‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो। उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
अनुसन्धानका क्रममा ८ करोड ५५ लाख २८ हजार ३ सय मूल्य बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाइ संगठित आपराधिक लाभ लिएको देखिएकाले भन्सार ऐन २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा महरा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।