: नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग तोकिएको मितिमा नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत असोज ७ गते क्यालेन्डर प्रकाशित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ गतेसम्म सञ्चालन गरिने जनाइएको थियो। एन्फाले लिग होम एन्ड अवे प्रणालीमा गर्ने दाबी पनि गरेको थियो। तर, मंगलबार पत्रकार सम्मेलन गर्दै तोकिएको मितिमा होम एन्ड अवे प्रणालीमा लिग नहुने जनाएको हो।
‘ए’ डिभिजन लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष होम एन्ड अवे प्रणालीमा नहुने एन्फा महासचिव किरण राईले बताए। ‘एएफसी क्लब लाइसेन्सको मापदण्डअनुसार लिग खेल्न क्लबहरू तयार छन्। तर, क्लबहरूले १० महिनाको समय माग गरेका छन्। क्लबहरूको मागमा हामी सकारात्मक छौं। त्यसैले यो वर्ष होम एन्ड अवे प्रणालीमा लिग हुँदैन’, महासचिव राईले पत्रकारले मंगलबार भने, ‘१० महिनापछि हुने लिगको तयारी अहिले नै थाल्छौं। छठपछि क्लबहरूसँग फेरि छलफल गरेर निष्कर्ष निकाल्नेछौं।’
२०७९/८० को लिग जेठ २३ गते सकिएदेखि एन्फाले अहिलेसम्म लिग गर्न सकेको छैन। पछिल्लोपटक चर्च ब्वाइज युनाइटेडले ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो। तीन वर्षदेखि लिग गर्न नसकेपछि एन्फाको चर्को आलोचना हुँदै आएको छ। लिग नहुँदा नेपाली खेलाडी विदेश पलायन भइरहेका छन्। नेपालमै रहेका खेलाडी पनि विदेशी लिग खेलिरहेका छन्।