: नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटको पहिचान गरेको भएपनि समयमा चिर्न नसक्दा पार्टी र देशलाई नै क्षति पुर्याएको दाबी गरेका छन्। बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेले युवालाई दुरुपयोग हुनबाट जोगाउने अनेक प्रयत्न गर्दा पनि भदौ २३ र २४ का दुःखद घटना भएको बताएका हुन्।
महासचिव पोखरेलले षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा एमाले नेतृत्वको सरकार ढलेको उल्लेख गरे। ‘मुलुकलाई प्रतिगमनमा लैजानेहरूले युवालाई दुरुपयोग गरेको कुरा थाहा पाएर विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि ती पर्याप्त प्रभावकारी हुन सकेनन्।’ उनले भने, ‘हाम्रा प्रयत्नको तुलनामा षडयन्त्रकारीका षडयन्त्र मुखर रूपमा अघि बढे र भदौ २३ र २४ को घटना भयो।’
महासचिव पोखरेलले सहरिया नवधनाढ्य र युवाहरू एमालेबाट टाढिँदै गएको उल्लेख गरे। उनले युवा शक्ति, भूमिहीन सुकुम्वासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निष्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गराए। कतिपय वैदेशिक घटनाक्रमले पनि नेपालको जनमत प्रभावित हुने गरेको उनको भनाई छ।
‘मिसन ग्रासरुटको समयमा प्रत्येक वडामा १० जना युवालाई पहिचान गरी नेतृत्व विकासको योजना बनाइएको भए पनि सो योजना अपेक्षाअनुसार कार्यान्वयन हुन सकेको छैन।’ महासचिव पोखरेलले भने, ‘प्रदेशदेखि वडासम्म पार्टीलाई व्यवस्थित गरी युवाबीचको कामलाई अघि बढाउने निर्देशन भए पनि अपेक्षित परिणाम आएन।’
पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले सामनाका लागि पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताए।