: मधेसको मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेसको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनललाई नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरिएकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा सोनललाई नियुक्त गरेको हो। सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित ५ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
खिचातानीले पेचिलो
मधेस प्रदेशको मुख्यमन्त्रीको नियुक्तिको प्रक्रिया पेचिलो बन्दै थियो। पछिल्लो राजनीतिक घटनाक्रमले जनमतको विग्रहका कारण मधेसको मुख्यमन्त्रीको नियुक्ति पेचिलो बनेको थियो। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आहान गरेको २४ घण्टाको समयावधिमा छुट्टाछुट्टै दुईवटा दाबी पेस भएपछि मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया पेचिलो बनेको थियो।
लोसपा नेता जितेन्द्र सोनलले सरकार गठनका लागि जसपाका १९, जनमतका १३, नेकपा (माओवादी केन्द्र)का ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ गरी ५६ सांसदको हस्ताक्षरसहितको दाबी पेस गरेकामा अर्को पक्षमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेपाली कांग्रेसका २२ र नेकपा एमालेका २३ सांसदको हस्ताक्षरसहित दाबी पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएसँगै मुख्यमन्त्री नियुक्ति पेचिलो बनेको थियो।
यसअघि प्रदेश प्रमुखले सरकार गठनको आहान अघि नै नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी सम्मिलित सरकार गठनको दाबी पेस गरीए पनि अहिले समीकरण भत्किएर नयाँ समीकरणमा सोनल मुख्यमन्त्री बनेका हुन्।
जनमत पार्टीले नेपाली काँग्रेस र एमाले नेतृत्वको सरकारलाई स्विकार नगर्ने भन्दै मधेशवादी शक्ति केन्द्रित सरकार बनाउने योजनाअनुरूप नयाँ सरकार गठनको प्रक्रियामा अघि बढेको जनमतका उपाध्यक्ष ई. बसन्त कुशवाहाले जानकारी दिए।
फुट्यो जनमत
जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जना सांसदले हस्ताक्षर गरेका छन्। जनमत पार्टीको संसदीय दलबाट दुई जना सांसदले नयाँ दल जनस्वराज पार्टीमा हस्ताक्षर गर्दै संसदीय दल फुटाएका हुन्।
निर्वाचन आयोग मधेस प्रदेशको कार्यालय जनकपुरधाममा पुगेर कार्यवाहक मुख्यमन्त्री सतिषकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनस्वराज पार्टीमा हस्ताक्षर गरेका हुन्। दल विभाजनसम्बन्धी पत्र आएपछि दल रोज्न पाउने कानुनी व्यवस्थाअनुसार मधेशका कार्यवाहक मुख्यमन्त्री सिंह र पूर्वमन्त्री साहले नयाँ जनस्वराज पार्टीमा सनाखत गरेर जनमतबाट जनस्वराज रोजेका हुन्।
सनाखतका लागि पूर्वमुख्यमन्त्री सिंह निर्वाचन कार्यालय पुग्दा केहीबेर दुई तर्फी झडपको अवस्था सिर्जना भएको थियो। नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता कार्यकर्ताहरूले सिंहको पक्षमा नारावाजी गरेका थिए भने जनमत पार्टीका नेता कार्यकर्ताहरूले मुख्यमन्त्री सिंहको विरोधमा नारावाजी गरेका थिए।
को हुन् मुख्यमन्त्री सोनल ?
नेपाल सद्भावना पार्टीको विद्यार्थी नेताका रूपमा राजनीतिक यात्रा आरम्भ गरेका सोनलले २०४२ सालको प्रजातान्त्रिक पुनर्वहालिको आन्दोलनमा भाग लिएका थिए। सद्भावनाको संस्थापक नेता गजेन्द्र नारायण सिंहबाट प्रेरित रहेका उनले २०६२/०६३ मा मधेस आन्दोलनको अग्रपंक्तिमा रहेर मोर्चा सम्हालेका थिए। २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट संविधानसभाका सदस्यको रूपमा उनी रहेका थिए।
उनी मधेस आन्दोलनको समयमा अग्रपंक्तिमा रहेर काम गरेका नेता हुन्। ०७९ को निर्वाचनमा उनी बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पहिलो प्रदेशसभामा पनि सोही क्षेत्रबाट निर्वाचित उनी पहिलो मुख्यमन्त्री लालबाबु राउतको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका थिए