: नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन आज बिहान ८ बजेबाट सुरु हुने भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको बैठकमा करिब ३६० सदस्यमध्ये ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन्। आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ। बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ। तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने व्यवस्था गरिएको छ।
बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रम अनुसार ‘ज्ञ’बाट ‘क’ सम्मकालाई पालैपालो धारणा राख्ने व्यवस्था मिलाइएको छ। गौतमका अनुसार हिजोको बैठकमा र बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन्। अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी छ।
बुधबार बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद् विघटनका विषयमा आवश्यक सुझाव आएको बताए। उनले भने,‘अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधिसभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, त्यसपछि सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन, निर्वाचनमा हाम्रो उपस्थिति के हुने? पार्टीले जनपरिचालन मार्फत गरिने कार्यक्रमबारे साथीहरूको बढी चासो छ।’
त्यसैगरी नयाँ सरकार गठनका समयमा निवर्तमान प्रधानमन्त्री ओलीले दिएको सुझावलाई तोडमोड गरिएको लगाएत धारणा आएको गौतमले बताए। सदस्यहरूलाई धारणा राख्नका लागि तीन मिनेटको समय दिइएको र लिखित सुझाव राख्न सक्ने व्यवस्था समेत गरिएको उनले जानकारी दिए।
केन्द्रीय सदस्यले बोल्नेक्रममा अध्यक्षको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजीनामा दिन पनि सुझाव दिएका छन्। केही पदाधिकारीहरुले अध्यक्षको राजीनामा मागेको चर्चा भइरहेकोले बताउँदै केन्द्रीय सदस्यहरुले पदाधिकारीको राजिनामा माग्दा के हुन्छ भनेर सोधेका थिए।