— 'आरोहीहरुको गाउँ'का रूपमा परिचित धार्चे गाउँपालिका–४ लाप्राकका १० जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।
सन्दीप गुरुङ, बुधबहादुर गुरुङ, सुजल गुरुङ, आशबहादुर गुरुङ, डम्बर गुरुङ, पूर्णबहादुर गुरुङ, इमान गुरुङ, रामबहादुर गुरुङ, सुजन गुरुङ र तिरज गुरुङले मनास्लु आरोहण गरेका हुन् । ‘यो वर्षको एकै सिजनमा एउटै गाउँका १० युवाले मनास्लुको सफल आरोहण गर्नुभयो,' लाप्राकका स्थानीय रोजन गुरुङले भने, ‘यहाँका स्थानीयको प्रमुख पेसा नै पर्यटन हो, ८ हजारमाथि उचाइका हिमाल आरोहण गर्ने युवा बर्सेनि बढ्दै गएका छन्, यो गाउँका लागि मात्र नभई जिल्लाकै गौरवको कुरो हो ।’
हिमाल आरोहण गर्नेको संख्या बढेपछि युवालाई ट्रेकिङ क्षेत्रमा लाग्न अझै उत्साह थपिएको उनले बताए । लाप्राक गाउँका करिब ६० प्रतिशत स्थानीय बासिन्दा पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आबद्ध छन् । सगरमाथा आरोही, माउन्टेन गाइड, ट्रेकिङ (पदयात्रा) गाइड, असिस्टेन्ट गाइडदेखि सहयोगीसम्मको काममा यहाँका स्थानीय आबद्ध छन् । लाप्राक घर भएका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक ४ जना छन् । उनीहरुले पर्वतारोहण पथप्रदर्शको प्रशिक्षण पनि गराउँछन् ।
मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई उपयुक्त समय मानिन्छ । किलर माउन्टेनका रुपमा परिचित ८,१६३ मिटर उचाइको मनास्लु पछिल्लो समय आरोहीको रोजाइमा पर्ने गरेको छ । पर्यटन विभागका अनुसार यो सिजनमा मात्र ३ सय ७४ जनाले मनास्लु आरोहण अनुमति लिएका थिए । यो वर्ष ३१ समूहका २७९ पुरुष र ९५ महिलाले मनास्लु आरोहणको अनुमति लिएका हुन । मौसम अनुकूल बनेपछि अनुमति लिएकाहरुले असोज ६ बाट आरोहण थालेका थिए । अहिले हिमाल आरोहण गरेर अधिकांश आरोही फर्किसकेका छन् । मनास्लु आरोहण अनुमति लिएकाबाट १५ करोड ७६ लाख ४० हजार एक सय १५ रुपैयाँ राजस्व संकलन भएको छ ।
हिमाल आरोहणसँगै पदमार्ग भएर मनास्लु क्षेत्र घुम्न जाने पर्यटक पनि बढेका छन् । भदौदेखि कात्तिकसम्म मनास्लु भ्रमणको उपयुक्त सिजन मानिन्छ । अहिले विदेशी पर्यटकसँगै पदयात्रामा रुचि भएका नेपाली पनि मनास्लु क्षेत्रमा खचाखच छन् ।
चालु आर्थिक वर्षको साउनमा ७६ र भदौमा ७७९ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ । मनास्लु क्षेत्रमा पुग्ने पर्यटकले चुम र नुव्री उपत्यका घुम्नुका साथै लार्के पास गर्ने गरेका छन् ।