— निर्वाचन आयोगले थालेको मतदाता नामावली संकलन अभियानमा मंगलबारसम्म ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन गरिरहेको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार थपिएको मतदाता संख्या ४६ हजार ४ सय ९५ हो । सबैभन्दा बढी चाप काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा देखिएको छ । त्यहाँ दैनिक ८ सयदेखि एक हजार मानिस मतदाता नामावलीका लागि फोटो खिचाउन र बायोमेट्रिक गराउन पुगिरहेका छन् ।
कार्यालयका तथ्यांक तथा आईटी अधिकारी मुगराम राईका अनुसार मंगलबार अपराह्नसम्म ६ हजारभन्दा बढीले काठमाडौंबाट मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । फोटो खिचाउनेमा युवाको संख्या उल्लेख्य रहेको उनले बताए । बिहान ८ देखि बेलुका ६ बजेसम्म लगातार फोटो खिच्ने र बायोमेट्रिक लिने काम भइरहेको उनले जानकारी दिए ।
१८ वर्ष उमेर पुगेका नागरिकलाई मतदानको अधिकार छ । अनलाइन प्रक्रियामार्फत आफ्नो व्यक्तिगत विवरण भरेपछि नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्ने आयोगका सूचना अधिकारी घिमिरेले बताए । देशभरिका जुनसुकै निर्वाचन कार्यालयबाट यो सुविधा प्राप्त गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।
सरकारले मतदाता नामावली ऐन संशोधन गरेर २१ फागुनका लागि निर्वाचन घोषणा गरेको थियो । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि नामावली संकलनको बाटो खुलेको हो । आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ ।