मुख्य समाचार
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा गरेपछि नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी सुरु
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा गरेपछि नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी सुरु

— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा गरेपछि नयाँ सरकार गठनका लागि दलहरुबीच रस्साकस्सी सुरु भएको छ । कांग्रेसको नेतृत्वमा एमाले र जनमत मिलेर नयाँ सरकार गठनका लागि यसअघि भएको सहमतिभित्र पनि साना दलहरू खेल्न थालेपछि मधेस प्रदेशमा नयाँ सरकारको गठन पेचिलो बनेको छ ।


आफ्नै दल जनमत पार्टी र सत्ता सहयात्री दल काँग्रेस, एमाले र लोसपाले क्रमशः समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुअघि रोष्ट्रमबाटै राजीनामा दिए। उनको राजीनामापछि दलहरू नयाँ सरकार गठनको कसरतमा लागेका छन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले कांग्रेसको नेतृत्वमा नयाँ सरकारका लागि एमाले र जनमत पार्टीले दाबी प्रस्तुत गर्ने बताए । ‘हामी सहमतिमा अडिग छौँ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन दाबी प्रस्तुत गर्नेछौँ,’ यादवले भने,‘नयाँ सरकारका लागि हामीले छिट्टै दाबी प्रस्तुत गर्नेछौँ ।’

कांग्रेस संसदीय दलका नेता कृष्णकुमार यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि एमाले र जनमतबीच सहमति भए पनि जनमतलाई त्यो गठबन्धनबाट अलग गर्न साना दल भने गृहकार्यमा जुटेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर दुई दिनदेखि जनकपुरमै छन् । मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा लोसपाका अध्यक्ष ठाकुरले मधेस प्रदेशमा सरकार बनाउने पालो आफ्नो दलको रहेको बताए।

‘काँग्रेस र एमालेलाई अलग राखेर अरू सबै दल समेटेर नयाँ सरकार बनाउने कसरत पनि भइरहेको छ,’ लोसपाका एक प्रदेश सांसदले भने, ‘अध्यक्षजी त्यही अनुसार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि कुराकानी गरिरहनुभएको छ।’ ठाकुर र राउतबीचको कुराकानी सकारात्मक रहेको ती सांसदले बताए ।

लोसपाले आफ्नो नेतृत्वमा मधेस प्रदेशमा सरकार गठन गर्न एमाले र कांग्रेसबाहेकका दलसँग कुराकानी तीव्र बनाएको छ । लोसपाका अध्यक्ष ठाकुरले जसपा, जनमत, माओवादी (केन्द्र), नेकपा (एस), राप्रपा र संघीय समाजवादी पार्टीका शीर्ष तहमा र प्रदेश सांसद जितेन्द्र सोनल र उपेन्द्र महतोले प्रदेश तहका यी सबै दलका नेता र सांसदसँग छलफलमा छन् ।

काँग्रेस, एमाले र जनमत गठबन्धनले ५८ जना सांसदको समर्थन रहेको पत्र गत बुधबार नै प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको छ । जनमत पार्टीको ढुलमुल नीतिले काँग्रेस र एमाले भने संशकित छन् । जनमत पार्टी टुक्रिएको र आफ्नै मुख्यमन्त्री सिंहलाई हटाउन जोडबल गरेकाले काँग्रेस र एमाले गठबन्धनलाई जनमतको सबै १३ मत जानेमा संशय छ ।



त्यसैले काँग्रेस र एमालेले आफ्नो गठबन्धनमा लोसपालाई पनि समेट्न खोजेको थिए । लोसपाको प्रदेश सभामा ८ सिट छ । तर, लोसपा आफ्नै नेतृत्वमा सरकार बनाउन तम्सिएपछि काँग्रेस, एमाले र जनमतको गठबन्धनलाई असहज हुन सक्ने देखिन्छ ।

कांग्रेसका प्रमुख सचेतक कुवँरकान्त झाले कांग्रेसको नेतृत्वमा एमाले र जनमतको गठबन्धनले नयाँ सरकारको दाबी प्रस्तुत गर्ने बताए । ‘सबै कुरा टुंगिसकेको छ । बुधबार हामी सरकारका लागि दाबी प्रस्तुत गर्नेछौँ,’ कांग्रेसका सचेतक झाले भने,‘लोसपा तीन दलीय गठबन्धनमा नआउने सूचना पाएको छु ।’

मुख्यमन्त्री सिंहले राजीनामा गरेपछि मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आव्हान गरिसकेकी छन् । बुधबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।

‘मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेको हुनाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरूले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार दिनको ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री सिंहको राजीनामा प्रदेश प्रमुख भण्डारीले मंगलबार नै स्वीकृत गर्दै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएकी हुन् । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा हाल १ सय ५ जना सांसद छन् । मधेस प्रदेशमा नेकपा एमालेका २४ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी, नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् ।

राजीनामा दिने क्रममा सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिएका थिए । मधेस प्रदेश सभामा मंगलबार विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘म सत्ता र पदका लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’ प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि सिंहको आरोप थियो ।

‘राजीनामा दिने तयारी गरिरहँदा आफूलाई एक शब्द नसोधी फिर्ता बोलाएको पत्र एक छिनमै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो,’ उनले भने, ‘यो तानासाही प्रवृत्ति नभए के हो ?,’उनले भने,‘मेरो चरित्र हत्या नै गरियो ।’ पार्टीले आफू विरुद्ध मिडिया ट्रायल गरेर गलत भाष्य निर्माण गरेको पनि उनको आरोप थियो । मनपरी, तानासाही र कानुनको उल्लङ्घन गर्दै आफूलाई बदनाम गरिएको प्रष्टीकरण दिएका थिए ।

जनमत विभाजन

सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । नवगठित जस्वपाको अध्यक्षमा दीपक कुमार साह रहेका छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए । तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । यस्तै, जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन् । नव नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

नयाँ पार्टीको झण्डमा निलो, सेतो, रातो रङको ठाडो धर्का रहनेछ । आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस बुधबार दिउँसो धनकुटाको निगालेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा महालक्ष्मी-७ की गंगा कार्की र अर्का एक पुरुष छन् । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीले पदबाट हट्ने निर्णय गरे आफू पदबाट हट्न तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालबाट हटाउन खोज्नु गलत भएको बताएका छन् । ‘मैले हट्नुपर्छ कि पर्दैन भनेर फेसबुकले भन्ने होइन । यो कमिटीले हट्नुपर्छ भनेका दिन एकदम खुसीका साथ हट्छु । घर जले पनि, केही भए पनि अँध्यारो मुख लाउन ...
— श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह (अन्डरवर्ल्ड) का नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी ६ जनालाई नेपाल सरकार श्रीलंका डिपोर्ट गरेको छ । काठमाडौंमा पक्राउ परेका उनीहरुलाई बुधबा सरकारले डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँग समन्वयमा गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव गराउने बाटोमा नगएको दाबी गरेका छन् । आजदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि नै संवैधानिक प्रश्न भएको बताए । चुनाव गराउने बाटो सरकारले नसमातेको भन्दै उनले अवैध ढंगको असंवैधानिक सरकार भएको आरोप लगाए । 'हामी सबैलाई थाहा छ नि त ...
— मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ । ६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ...