मुख्य समाचार
टीट्वेन्टी विश्वकप छनोट आज नेपाल र ओमानबिच खेल हुने
टीट्वेन्टी विश्वकप छनोट आज नेपाल र ओमानबिच खेल हुने

: आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ।

बुधबार साँझ ८:४५ बजे हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ। विगतको नतिजा हेर्ने हो भने नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ।

पछिल्लो समय ओमानको टोलीमा आमूल परिवर्तन आइसकेको छ। पुराना र अनुभवी खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल्न छाडेपछि नयाँ टोलीका साथ ओमान विश्वकप छनोटमा उत्रिएको छ। त्यही कारण ओमानको तुलनामा नेपालको पल्ला भारी देखिएको छ। त्यसैले बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ।


विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले पाँच खेलमा जित निकालेको छ भने ओमानले तीन खेल जितेको छ। विगतको तथ्यांकमा पछि परे पनि आफ्नो पुरानो छविलाई यथावत राख्दै शतप्रतिशत जित निकाल्ने लक्ष्यमा नेपाल छ। विश्वकप छनोट प्रतियोगिता अगाडि ओमानसँग भएको अभ्यास खेलमा नेपाल विजय भएको थियो ।

रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित

नेपालले सोमबार राति भएको रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित गरेको थियो। नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा एक सय ४२ रनमा समेटिएको थियो। कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले अर्धशतकीय पालि खेले पनि टोलीलाई जिताउन सकेनन्। इमालले ५५ र जुबेरले ५२ रनको योगदान दिए। उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। मोहमद असिमले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए।

३.५ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर पाँच विकेट लिएका हुन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले दोस्रो पटक पाँच विकेट लिएका हुन्। उनले यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा नौ रन खर्चिएर पाँच विकेट लिएका थिए। यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले ५८ रनको अर्धशतकीय पालि खेलेका थिए। उनले ४२ बलमा एक छक्का र सात चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले २६, गुलसन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११ रन बनाए। कतारका कप्तान मिर्जा मोहमद बेग र डानियल लुइसले तीन÷तीन विकेट लिए। मोहमद असिमले ओवेस अहमदले एक÷एक विकेट हात पारे।

सन्दीपको २५० विकेट पूरा
सोमबार राति कतारसँगको खेलबाट लेगस्पिनर सन्दीप लामिछानेले दुई सय ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। उनले सोमबार कतारसँगको खेलमा दोस्रो विकेट लिएसँगै दुई सय ५० विकेट पूरा गरेका हुन्। उनले ओपनर इमाल लियानागेलाई बोल्ड गर्दै यो सफलता हासिल गरेका हुन्।

सन्दीपले ६६ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा एक सय २७ विकेट लिएका छन्। यस्तै ६२ एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक सय २७ विकेट नै लिएका छन्। उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिएका छन्। उनले सोमबार राति ३.५ ओभर बलिङ गर्दै १८ रन खर्चिएर पाँच विकेट लिएका थिए। यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा उनले नौ रन खर्चिएर पाँच विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...