: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ।
आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको बताइएको छ।
इजरायलको अपहृतहरूको परिवार प्रतिनिधि समूहले विज्ञप्तिमा भनेको छ, 'यो अपूरणीय पीडाको क्षण हो। तर, दुई वर्षदेखि अनिश्चितता र मानसिक यातनामा बाँचेका परिवारका लागि बिपिन र गाईका शव फिर्ता आउनु केही हदसम्म राहत हो।' उनीहरूले बाँकी २४ जना अपहृतहरू सुरक्षित घर फर्किनुपर्ने अडान लिएका छन्।
२०२३ अक्टोबर ७ मा गाजाबाट हमास आतंककारीहरूले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा बिपिन जोशी अन्य नेपाली विद्यार्थीहरूसँग किब्बुट्ज आलुमिममा थिए। उनीहरू अलार्म बज्दा नजिकैको शेल्टरतर्फ भागेका थिए, तर आतंककारीहरूले त्यहाँ ग्रेनेड फ्याँके। बिपिनले एक आतंककारीलाई धकेलेर बाहिर निकाल्ने प्रयास गरे, तर अर्को ग्रेनेड विस्फोट हुँदा उनका दुई साथी मारिए र केही घाइते भए। त्यसपछि बिपिनलाई आतंककारीहरूले अपहरण गरी गाजास्थित शिफा अस्पताल लगिएको थियो। त्यही दिनको भिडियोमा उनलाई आफ्नै खुट्टामा हिँडिरहेको देखिएको थियो। बिपिन जोशी त्यतिबेला २३ वर्षका थिए। इजरायलमा कृषि अध्ययनका लागि आएको एक महिनामात्र भएको थियो।
युद्ध सुरु भएदेखि नै नेपालमा रहेका बिपिनका परिवार मिडियाबाट निरन्तर जानकारी लिँदै आएका थिए। गत अगस्टमा उनकी आमा पद्मा जोशी र बहिनि पुष्पा जोशी पहिलोपटक नेपाल छोडी इजरायल पुगेका थिए। उनीहरूले बिपिन अपहरण भएको किब्बुट्ज भ्रमण गरे र इजरायली सैनिक तथा अपहृत प्रशासनका अधिकारीहरूसँग भेटेका थिए।
गत साता परिवारले सार्वजनिक गरेको भिडियोमा बिपिनलाई बन्धक अवस्थामा देखिएको छ, जुन हमासका अनुसार नोभेम्बर २०२३मा खिचिएको हो। त्यस भिडियोमा उनले आफ्नो नाम, उमेर र इजरायलमा आएको मिति बताउँछन्। परिवारले त्यो भिडियो एक वर्षअघि हेरे पनि सेन्सर कारण हालमात्र सार्वजनिक गर्न पाएका थिए।
बहिनी पुष्पाले हारेट्जलाई भनेकी छन्, 'जब मैले त्यो भिडियो हेरेँ, मेरो शरीर काँप्यो। म, आमा र बुबा सबै रोयौं। सुरुमा उहाँलाई सकुशल देख्दा राहत महसुस भयो, तर त्यसपछि झन् डर लाग्न थाल्यो, के हामी उहाँलाई फेरि देख्न पाउँछौं?'
अनिश्चितताको अन्त्य, तर पीडाको सुरुवात
दुई वर्षदेखि बन्धक बनेका बिपिनको मृत्युको खबरले नेपाल र इजरायलमा रहेका नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उनी असंख्य नेपाली श्रमिक र विद्यार्थीहरूको प्रतिनिधि पात्र बनेका थिए, जसले विदेशी भूमिमा श्रम र सिकाइका सपनासँगै जोखिम पनि बोकेका छन्।
बिपिनको परिवारले भनेको छ, 'अब हाम्रो छोराको नाम अनिश्चितताको सूचीमा छैन। तर, उनको सपनाको कथा अधुरो रह्यो।' नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले यस घटनामा दुःख व्यक्त गर्दै बिपिनको परिवारप्रति समवेदना प्रकट गरेका छन्।