: यहीँ असोज १८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण बाढी र पहिरोले मेची राजमार्ग अबरुद्ध बनाएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। वर्षाका कारण मेची राजमार्गको माईखोला नजिकैको राजदुवाली क्षेत्रमा ठूला पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
राजमार्ग अवरुद्ध भएपछि आइतवारदेखि वैकल्पिक सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार मेची राजमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले ताप्लेजुङ, पाँचथर र इलामका माथिल्ला भेगका बासिन्दाको आवतजावत सहज बनाउन इलाम बजार–तिल्केनी–बज्रदेवी–नामशालिङ–नयाँबजार हुँदै फिक्कलसम्म साना सवारीसाधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
तर, वैकल्पिक बाटो कच्ची र उकालो–ओरालो भएको पहाडी भूभागमा पर्ने भएकाले ठूला सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च रहने भएकाले केवल साना सवारीसाधनलाई मात्र अनुमति दिइएको डीएसपी भण्डारीले बताए। मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दा प्राकृतिक नाकाबन्दीमा परेका छन्।
दैनिक उपभोगका सामग्री, औषधि र इन्धन ढुवानीमा समस्या देखिएको छ भने लामो दूरीका यातायात सेवा पूर्णरूपमा ठप्प भएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सरकारले तत्काल मेची राजमार्ग सफा गरी नियमित यातायात सेवा सञ्चालन गर्न माग गरेका छन्। उनका अनुसार राजमार्ग बन्द रहँदा दुर्गम क्षेत्रका बासिन्दा राहत र आपतकालीन सेवाबाट वञ्चित भइरहेका छन्।
मेची राजमार्गमा ठूला पहिरो खसेको, सडक भासिएको र पहिरोले धेरै ठाउँ बगाएको कारण तत्काल सडक खुलाउने सम्भावना कम रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। मौसम सुधार भएपछि मात्र पहिरो पन्छाउने र सडक मर्मतको काम तीव्र गतिमा अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्ने सवारी चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।