: आरोहीको गाउँ भनेर परिचित गोरखाको लाप्राकका १० जनाले यो सिजनमा मनास्लु हिमाल आरोहण गरेका छन् । आरोहण संस्कृतिलाई बढवा दिइरहेको धार्चे गाउँपालिका–४ लाप्राकका १० जनाले विश्वको आठौं, नेपालको सातौं अग्लो मनास्लु हालसालै आरोहण गरेका हुन् ।
स्वदेशी, विदेशी गरी ३ सय ७४ जना आरोहीले मनास्लु आरोहण गर्न अनुमति लिएकामा लाप्राक एउटै गाउँका १० जनाले सफल आरोहण गरेका आरोही तुलसिङ गुरुङले जानकारी दिए ।
उनका अनुसार लाप्राकका बुद्ध गुरुङ, सन्दीप गुरुङ, सुजन गुरुङ, तिरज गुरुङ, इमान गुरुङले यो सिजनका विभिन्न मितिमा मनास्लु आरोहण गरेका हुन् । त्यस्तै, रामबहादुर गुरुङ, पूर्ण गुरुङ, आशिष गुरुङ, डम्बर गुरुङ र सुजल गुरुङले यो सिजनमा मनास्लु आरोहण गरेका उनको भनाइ छ ।
धार्चे गाउँपालिकाबाट अरू दुई जनाले पनि यो सिजनमा मनास्लु आरोहण गरेका छन् । धार्चे २ रुन्चेतका नवराज गुरुङ र सोही वडाको केरौंजाका हरिबहादुर गुरुङले पनि यही सिजनमा मनास्लु आरोहण गरेका हुन् ।
सोलुखुम्बुका शेर्पा समुदायपछि सबैभन्दा धेरै हिमाल आरोहण गर्नेमा गोरखा लाप्राकका गुरुङ समुदाय छन् । उनीहरूले विभिन्न कम्पनीमा आबद्ध भई गाइड तथा शेर्पा बनेर हिमाल आरोहणलाई व्यावसायिकता अपनाउन थालेका आरोही तुल्सिङ गुरुङको भनाइ छ । आरोहणलाई व्यवसायका रूपमा अपनाउनेहरूलाई प्रोत्साहन गर्न गाउँपालिका तथा धार्चेका सामाजिक संघसंस्थाहरूले हिमाल आरोहीहरूलाई समय समयमा अभिनन्दन गर्ने गरेको छ ।
मनास्लु गोरखाको चुमनुब्री गाउँपालिका–१ मा अवस्थित ८,१६३ मिटर अग्लो हिमाल हो । यसलाई किलर माउन्टेन भनेर पनि चिनिन्छ ।