मुख्य समाचार
बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प
बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प

। हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् ।

गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ ।

इजरायल जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘युद्ध समाप्त भएको’ बताएका छन् । साथै उनले युद्धविराम कायम रहने र गाजाका लागि ‘बोर्ड अफ पिस’ छिट्टै गठन गरिने पनि बताए ।



ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थताको भूमिका खेलेको कतारको पनि प्रशंसा गरे ।

इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

इजरायलको संसदमा ट्रम्पले गर्नेछन् सम्बोधन

ट्रम्प सोमबार इजरायल पुग्ने र त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँगै शर्म अल–शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ ।

उक्त समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास पनि रहनेछन् ।

ट्रम्पले भने– युद्धविराम कायम रहने छ

बीबीसीले युद्धविराम टिक्ने विश्वास छ कि छैन भनेर सोध्दा ट्रम्पले युद्धविराम कायम रहने बताएका छन् । उनले भनेका छन्, ‘युद्धविराम कायम रहनेछ । म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न पनि सक्षम छु ।’

इजरायली आक्रमणबाट ध्वस्त भएको गाजा क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्कने ट्रम्पको विश्वास छ । गाजाको हेरचाहका लागि बोर्ड अफ पिस नामक निकाय छिट्टै गठन गरिने उनले बताए ।

डोनाल्ड ट्रम्पको पहलमा गत शुक्रबार युद्धविराम सम्झौता भएपछि शनिबारको दिन इजरायली शहर तेल अविवमा सयौं इजरायलीहरू भेला भएर अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।

यद्यपि शान्ति योजनाका आगामी चरणहरूमा सहमति जुटाउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । विशेष गरी गाजाको प्रशासन, इजरायली सेना फिर्ता लैजाने सीमा र हमासको निशस्त्रीकरणका विषयमा सहमति जुटाउन कठिन हुनसक्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि चीनले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकालाई उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’ उनले थपे, ‘चीन सम्भावित व्यापार युद्धबाट ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै यस्तो चेतावनी दिएका हुन् । २,५०० किलोमिटर (१,५०० माइल) सम्म मार हान्न सक्ने क्षमताका कारण यो मिसाइल युक्रेनले प्राप्त गरेमा मास्कोमाथि खतरा बढ्नेछ । उनले भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु ...
। हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो । हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसको जानकारी दिएको छ। ट्रम्प अहिले इजरायल पुगिसकेका छन् र उनको स्वागत इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गरेका छन् । इजरायलपछि ट्रम्पले मिश्रको यात्रा गर्नेछन्, जहाँ उनले अन्य देशका नेताहरूसँग गाजामा शान्तिको विषयमा वार्ता गर्नेछन्। सोमबार हमासले सात जना इजरायली बन्धकहरूलाई ...
। गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक आन्तरिक झडपहरूमध्ये एक हो। प्रत्यक्षदर्शीहरुका गाजा सहरको जोर्डनियन अस्पताल नजिक नकावधारी हमास लडाकुहरू र दुग्मुश घरानाका लडाकुहरूबीच गोलीबारी भएको थियो। हमासद्वारा सञ्चालित गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले ...