मुख्य समाचार
मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु
मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु

। छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए ।

परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना अधुरै रह्यो । १ अक्टोबर २०२५ मा हृदयाघातका कारण उनको निधन भयो ।


मलेसियास्थित जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार महतोको मृत्युको कारण ‘मायोकार्डियल इन्फाक्र्सन’ देखाइएको छ, जसमा हृदयमा रगत आपूर्ति रोकिँदा वा अत्यधिक कम हुँदा हृदयको कोषिका मर्छन् ।

‘उनी धेरै नै धार्मिक प्रवृत्तिका थिए, रक्सी, चुरोट, खैनी केही पनि सेवन गर्दैनथे,’ थापाले भने, ‘मृत्यु हुनुभन्दा केही घण्टाअघि उनले छाती दुखेको बताएका रहेछन् ।’



छाती दुखेपछि उनी नजिकैको निजी क्लिनिक पुगेका थिए । तर, क्लिनिकले ठूलो अस्पताल जान सल्लाह दिएको थियो ।

‘क्लिनिकको रिफरपछि ठूलो हस्पिटल लगियो, इमर्जेन्सीमा भर्ना गरेपछि करिब एक घण्टामै चिकित्सकले उनलाई मृत घोषणा गरे,’ थापाले भने ।

थापाका अनुसार सुरुमा मुटु दुख्यो, छाती दुख्यो भन्नुभएछ, दुख्यो भनिसकेपछि नजिकको क्लिनिकमा लगियो । क्लिनिकले रिफर गरिदियो । त्यो चिठी लिएर गएर एपोइन्टमेन्ट ल्याइसकेपछि ठूलो अस्पताल लगिएको थियो ।

‘लगिसकेपछि इमर्जेन्सीमा भर्ना गरियो, तर भर्ना गरेको १ घण्टामा अस्पतालले मृत घोषणा गरिदियो,’ थापाले भने ।

परिवारको बिचल्ली

मृतक महतोका कान्छा भाइ रामबालकका अनुसार उनका ५ छोरी छन् । श्रीमती र छोरीहरू गाउँमा बस्दै आएका छन् । तर, श्रीमानको मृत्युको खबरले श्रीमती अचेत छिन् ।

दाजुको मृत्युपछि परिवारको बिचल्ली हुने भाइ रामले बताए । ‘एकदमै कमजोर आर्थिक अवस्था छ, दाइले नै ५ छोरी पढाउने, घर खर्च चलाउन पैसा पठाउनुहुन्थ्यो,’ भाइ रामले दुःखेसो पोखे, ‘जग्गा पनि छैन, कसैको आम्दानी पनि छैन, छोरीको बिहे गर्ने उमेर भइसक्यो, एकदमै गाह्रो भयो, दाइ नै परिवारमा कमाउने एक्लै थियो ।’

महतोको मृत्युको खबर गाउँकै एक जना दाइबाट परिवारले पाएको थियो । ‘गाउँकै दाइले बेलुका ५ बजेतिर कल गरेर उहाँको मृत्यु भइसक्यो भन्नुभयो,’ रामले भने ।

१ अक्टोबर बिहान ९ बजेतिर मृत्यु भएकोमा परिवारले बेलुका ५ बजेतिर थाहा पाएको थियो ।

मलेसियामा कोभिड–१९ पछि स्वास्थ्य सेवा लिन एपोइन्टमेन्ट प्रणाली लागु भएकाले आपतकालीन अवस्थामा पनि ढिलाइ हुने गरेको छ । जसले गर्दा बिरामी परेकाहरू सिधै ठूलो अस्पतालमा उपचार गराउन जान सक्दैनन् ।
विदेशमै रहेर उनले कमाएको सबै आम्दानी परिवारको गुजारा चलाउन पठाउने गर्थे । उनको मृत्युले परिवार एकातिर शोकाकुल छ भने अर्कातिर भविष्यको चिन्ता बढेको छ।

महतोका छोरीहरू बुबाको प्रतीक्षामा थिए । तर, उनीहरूलाई फर्केर आउने सग्लो मान्छे होइन, ‘बुबा अब कहिल्यै नफर्कने’ खबर मात्रै आएको छ ।

लामो समयदेखि मलेसियामा बस्दै आएका जनउद्धार केन्द्र मलेसियाका थापा दशैं मान्न लागि नेपाल आएका थिए । घरमै रहेका बेला मलेसियाबाट साथीहरूले महतोको मृत्युबारे जानकारी गराएका थिए ।

त्यसपछि उनले नेपालबाटै समन्वय गर्दै आएका थिए । उनको मृत्युपछि शव नेपालसम्म ल्याउन कम्पनीसँग समेत उनले नै पहल गरेका थिए । कम्पनीलाई भनेपछि कम्पनीले उनको शव नेपालसम्म ल्याउन सहयोग गरेको थापाको भनाइ छ ।

जनउद्धार मलेसियाको पेनाङ राज्यस्थित टोली सक्रिय भएर उनको शव नेपाल ल्याउने काम गरिएको बताए ।

‘हामीसँग स्थानीय सम्पर्क समिति, मगर संघ, तामाङ संघ, तमु समाज लगायत संघसंस्थासँग समन्वय हुन्छ, त्यसैले घटना तुरुन्तै थाहा पाउँछौं, त्यही संस्थामार्फत शव ल्याउने काम गरियो,’ उनले भने ।

शव पठाउन कम्पनी, मलेसियास्थित नेपाली दूतावास र जनउद्धार केन्द्रले सहजीकरण गरेका थिए । ‘शव पठाउन झन्डै ४ देखि ६ हजार रिंगिट खर्च पर्छ, यो खर्च कम्पनीले नै बेहोरेको हो,’ थापाले भने ।

मलेसियामा कोभिड–१९ पछि स्वास्थ्य सेवा लिन एपोइन्टमेन्ट प्रणाली लागु भएकाले आपतकालीन अवस्थामा पनि ढिलाइ हुने गरेको छ । जसले गर्दा बिरामी परेकाहरू सिधै ठूलो अस्पतालमा उपचार गराउन जान सक्दैनन् ।

‘पहिले जस्तो सिधै अस्पताल जान पाइँदैन, सरकारी क्लिनिकले रेफर गरेपछि मात्रै ठूला अस्पतालमा जान मिल्छ,’ थापाले भने, ‘त्यही कारण धेरै नेपालीले समयमै उपचार पाउँदैनन् ।’

मलेसियामा नेपालीलाई बढ्दो हृदयाघात

मलेसियामा मृत्यु हुने नेपालीको संख्या बढ्दो क्रममा छ । मलेसियास्थित नेपाली दूतावासले मासिक ३० देखि ४० नेपालीको शव नेपाल पठाउने गरेको छ ।

पहिले औसत दिनमा एक जनाको मृत्यु हुने गरे पनि अहिले यो दर बढेर करिब १.३ जना प्रतिदिन पुगेको छ । गत आर्थिक वर्ष मलेसियाबाट ३ सय २७ नेपाली श्रमिकको शव नेपाल ल्याइएको थियो ।

‘मलेसियाको तापक्रम सधैं ३० डिग्री सेल्सियसभन्दा माथि हुन्छ, लगातार काम गर्ने, पानी कम पिउने र अत्यधिक गर्मीमा बस्ने बानीले हृदयाघात र स्ट्रोकको जोखिम बढाएको छ,’ थापाले भने ।

मलेसियामा काम गर्न जानेहरू अत्यधिक गर्मी क्षेत्रमा जान्छन् । पसिना धेरै आउँछ । तर, पानी धेरै पिउँदैनन् । दिनभरि गर्मीमा काम गरेर बेलुका गएर फेरि फ्यान लगाएको कोठामा सुत्छन् । जसले गर्दा राति सुतेको अवस्थामा बिहान मृत फेला पर्ने गरेको उनको भनाइ छ ।

मलेसियामा ७०–८० भन्दा बढी नेपाली संघसंस्था सक्रिय छन् । जसमा जातीय, सामाजिक र राजनीतिक छन् । तर, एकताबद्ध भएर काम गर्न नसक्दा पीडित नेपालीलाई समयमै सहयोग पुर्‍याउन कठिनाइ भएको थापाको भनाइ छ ।

‘सबैलाई समस्या थाहा छ, तर एउटै प्लेटफर्ममा काम गर्ने संस्कार छैन, दूतावासले पनि आफ्नो क्षमता अनुसार प्रयास गर्छ, तर जनशक्ति कम छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...
: साउदी अरबमा कार्यरत नेपाली समुदायले नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको माग पुनः उठाएका छन् । श्रमिकहरूको बढ्दो संख्या, यात्रा सहजीकरण, आपतकालीन व्यवस्थापन तथा राष्ट्रिय ध्वजावाहक सेवाको आवश्यकता औँल्याउँदै सरोकारवालाहरूले नियमित उडान विस्तारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपालीहरूका लागि हवाई सेवा केवल यात्राको विषय मात्र नभई आवश्यकता, ...