मुख्य समाचार
बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का
बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का

। बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का गरिराखेको छ ।

२० साउनमा इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकार गठन भएसँगै चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा संशोधन गर्ने कि पूरक बजेट ल्याउने भन्ने विषय नटुंगिएसम्मका लागि बजेट रोक्का गरि राखिएको हो । गत ३ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चालू बजेट पुनरावलोकन गर्ने निर्णय गरिसकेको थियो ।

उक्त मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पुनरावलोकन गर्न अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठक बस्नुअघि २ असोजमा मुख्यमन्त्री कार्यालयमा भएको सर्वदलीय बैठकले बजेटको खर्च कटौती गर्ने सैद्धान्तिक सहमति पनि भएको थियो ।

जेन–जी आन्दोलनको ९ दिनपछि मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अनावश्यक खर्च कटौती गर्ने र प्रशासनिक संरचना हेरफेर गर्ने सहमति गरेको हो । सर्वदली सहमतिको आधारलाई टेकेर सरकारले भोलिपल्टको मन्त्रिपरिषद्बाट बजेट पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।



वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरवालोकन गर्ने निर्णय गरिएको आर्थिक मामिलामन्त्री प्रभात तामाङले जनाए ।

त्यसयता आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका सबै मन्त्रालयलाई पत्राचार गरेर बजेटमा हेरफेर गर्न सकिने विवरणहरु माग गरेको छ । बिहीबारसम्म सबै मन्त्रालयले माग गरिएको बजेटको विवरण आर्थिक मामिलामा पठाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयगत विवरणहरुलाई एकीकृत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पठाइने मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले जानकारी दिए । सोहि प्रतिवेदनका आधारमा सरकारले बजेटबारे नयाँ निर्णय गर्नेछ ।

सरकार बजेट हेरफेरको तयारीमा लागेपछि गत भदौ अन्तिमबाट दुई वटा शिर्षक बाहेकका योजनाहरु रोक्का राखेको प्रवक्ता आचार्यले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्मचारी तथा पदाधिकारीहरुको तलब भत्ता र पुरानो कार्यक्रमहरुको दायित्व सिर्जना भइसकेको अनिवार्य दायित्व शिर्षकको मात्रै खर्च गर्न पाउने गरी खुला गरेको हो ।

बजेटका बाँकी सबै शिर्षकबाट खर्च गर्न नमिल्ने गरी बजेट रोक्का गरिएको आचार्यले जानकारी दिए । उनकाअनुसार सरकारले बजेट बारे नयाँ निर्णय नगरेसम्म बजेट रोक्का नै रहनेछ । ‘सरकारले गर्न लागेको बजेट संशोधनको प्रक्रियाका लागि रोक्का गरिएको हो । सरकारले एउटा निर्णय लिएपछि खुलाउँछौं ।’ उनले भने ।

यता सरकारमा भने पूरक बजेट ल्याउने की संशोधन गर्ने भन्ने विषय अझै टुंगिएको छैन । आर्थिक मामिलामन्त्री प्रभात तामाङले पूरक बजेट ल्याउने की संशोधन मात्रै गर्ने भन्ने विषयमा दलहरुबीच सहमतिको प्रयास भइसकेको जानकारी दिए । अनलाइनखबरसँग कुरा गर्दैै उनले भने, ‘कांग्रेस, एमालेलगायतका दलको बैठक बस्दैछ । त्याहाँ हुने निर्णयबाट पूरक बजेट ल्याउने की संशोधन गर्ने भनेर टुंगो लाग्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पूरक बजेटको विपक्षमा देखिएको छ । २३ असोजमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै माओवादीले अनावश्यक खर्च कटौती गरेर चालू आवकै बजेट कार्यान्वयन गर्नुपर्ने, मन्त्रालय संख्या घटाउनुपर्नेलगायतका विषय उठाएको दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयन गर्न तयारी अवस्थामा देखिएको छ । ‘सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयनका लागि हामी तयारी अवस्थामा छौं । के गर्ने भनेर पहिला सरकारले टुंग्याउन पर्‍यो,’ मन्त्रालयका सचिव झलकराम अधिकारीले भने ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले १ असारमा ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो । बजेटमाथिको विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिको अध्ययन कार्यदल गठन गरेर बजेटमा भएको बदनीयत र त्रुटीको अध्ययन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...