: सुनसरीको इटहरीमा रहेको इलाका प्रहरी कार्यालय अब इटहरी–९ स्थित रंगशाला परिसरमा सार्ने तयारी भइरहेको छ। जीनजी आन्दोलनको क्रममा अराजक समूहद्वारा मुख्य चोकमा रहेको प्रहरी भवन ध्वस्त पारिएपछि प्रहरीहरू अस्थायी रूपमा तरहरास्थित चौकीबाट सेवा दिइरहेका छन्।
प्रहरीको यो व्यवस्था दीर्घकालीन समाधान नहुने ठहर गर्दै इटहरी उपमहानगरपालिकाले नयाँ स्थानमा प्रहरी कार्यालयको स्थानान्तरणको प्रक्रिया अघि बढाएको मेयर हेमकर्ण पौडेलले बताएका छन्। उनका अनुसार अब प्रदेश खेलकुद विकास समितिको मातहतमा रहेको रंगशालाको भवन अस्थायी रूपमा प्रहरी कार्यालयका रूपमा प्रयोग गरिनेछ।
वि.सं. २०२९ मा बनाइएको पुरानो प्रहरी भवन इटहरीको ५र७ हजार जनसंख्या लक्षित गरी निर्माण गरिएको भएपनि हालको दुई लाखभन्दा बढी जनसंख्या भएको सहरमा त्यो भवन पर्याप्त नरहेको बताइएको छ। हालसम्म क वर्गको ईप्रका सञ्चालन गर्न आवश्यक १६ कट्ठा जमिनको सट्टा केवल १ कट्ठामा कार्यालय चलिरहेको थियो। यसले सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना गरिरहेको छ। इटहरी–९ का वडाअध्यक्ष जितेन्द्र थापाले प्रहरी कार्यालय सार्नको लागि रंगशालाको भवन मर्मत भइरहेको बताए।
प्रहरी प्रमुख एसपी केशबकुमार थेबेले पनि नागरिक सेवा, अनुसन्धान र सुरक्षाको निरन्तरताका लागि तत्काल प्रहरी कार्यालय स्थानान्तरण आवश्यक भएको र दीर्घकालीन समाधानका लागि तीनै तहको सरकारबीच समन्वय भइरहेको बताए।