: नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेको सरकार जनादेश र संविधान विपरीत बनेको बताएका छन्। बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्।
उनले गृहमन्त्री अर्याल केहि मुठ्ठिभर बुख्याचाहरु खडा गरि उनीहरूमार्फत देशमा शान्ति भंग गराउन अराजक र अनधिकृत कृयाकलापहरु गर्न लगाउने, संवैधानिक निकायलाई दवाब सिर्जना गर्न उक्साउने, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झूटो र षडयन्त्रमूलक कृतिम मुद्दा दर्ता गराउने काममा लागेको दाबी गरेका छन्।
‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृहमन्त्री प्रतिशोध, झूट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्।’ उनले भने,‘यतिबेला उनी स्वयमको प्रत्यक्ष संलग्नता र योजनामा नै केहि मुठ्ठिभर बुख्याचाहरु खडा गरि तिनिहरूमार्फत देशमा शान्ति भङ्ग गराउन अराजक र अनधिकृत क्रियाकलापहरु गर्न लगाउने, राज्यका विभिन्न अङ्गका पदाधिकारी तथा राष्ट्रसेवकहरुलाई धम्क्याउने, उनीहरूका मनोबल गिराउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्ने महत्वपूर्ण संस्थाका नेतृत्व हटाउन भन्दै अवान्छित दवाब सिर्जना गर्न उक्साउने, पुर्व प्रधानमन्त्री तथा मन्त्रीहरूकाविरुद्ध झुठो र षडयन्त्रमूलक कृतिम मुद्दा दर्ता गराउने, मिडिया ट्रायल र सोसियल मिडियामा प्रायोजित र भ्रामक सामग्री हरु सहित क्याम्पेन संचालन गर्न लगाउने जस्ता अति घृणित धन्दा मिसन बनाएरै निर्वस्त्र ढङ्गले चलाइरहेका छन्।’
उनले देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफैँ मुलुकका सबै क्षेत्रमा भय, त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरि शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्धत रहेको दाबी गरे। बर्तौलाले भने, ‘देश र जनताको जिउ धनको सुरक्षाको जिम्बेवारी समेत लिएर बसेको गृहमन्त्री आफैँ मुलुकका सबै क्षेत्रमा भय , त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरि त्यसैको बलबाट मात्रै शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्दत रहेको प्रष्टै देखिन्छ । जुन उनी स्वयमका लागी समेत असाध्यै भारी पर्ने निश्चित नै रहेको छ । यति कुरा चाहिँ बुझेरै राखौं रात जतिसुकै लामो भए पनि बिहानी भएरै छोड्छ ।’