मुख्य समाचार
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि प्रस्ताव गरेको युद्धविराम योजना कार्यान्वयन गर्न इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सोमबारदेखि इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा बन्धकहरूको रिहाइलाई प्राथमिकता दिइएको छ ।


इजिप्टको सरकारी सञ्चार संस्था अल–काहेरा न्युजका अनुसार इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा सोमबारबाट इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सुरु भएको छ । वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन् ।

इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण भूमिका निर्वाह गरिरहेका छन् । वार्तामा ट्रम्पको युद्धविराम योजनामा प्रस्ताव गरिए जस्तै पहिलो चरणअन्तर्गत युद्धविराम सम्झौता भएको ७२ घण्टाभित्र हमासले बाँकी रहेका ४८ जना बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूको रिहाइका विषयमा सोमबार र मंगलबार छलफल भएको इजिप्टका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्यालेस्टिनी कैदीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ‘दुवै पक्षबीच बन्धक छुटाउनका लागि संयन्त्र तयार गर्ने प्रयास भइरहेको छ,’ इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल–काहेरा न्युजले लेखेको छ । हमासले भने ७२ घण्टाभित्र ४८ जनामध्ये मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् । इजरायल र हमास दुवैले ट्रम्पको प्रस्तावमा अनौपचारिक रूपमा सहमति जनाइसकेका छन् । योसँगै नेपाली विद्यार्थी जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक

गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ मध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । ‘हामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्‍याउने अपेक्षा गर्छौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायललाई भने । वार्तामा सहभागी इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहुका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र बन्धक समन्वयक गल हिर्स छन् । मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिलामन्त्री रोन डर्मर भने वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ ।



ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायली सेनालाई क्रमशः गाजाबाट फिर्ता गर्ने पनि उल्लेख छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको छ । रिपोर्टका अनुसार इजरायल र हमासमाथि सम्झौताका लागि दबाब सिर्जना गर्न ह्वाइट हाउसका मध्यपूर्व दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर बुधबार इजिप्ट जाँदै छन् ।

इजिप्टका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै हमासले इजरायलसँग बन्धक रिहा भएपछि सैनिक फिर्ता गर्ने ग्यारेन्टी मागिरहेको जनाएका छन् । तर दुवै पक्षमा चरम अविश्वास रहेको एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । ‘वार्तामा दुवै पक्षबीच चरम अविश्वास छ । हमास र अन्य समूहहरूलाई डर छ, इजरायलले बन्धकहरू मुक्त भएपछि वार्ता तोड्न सक्छ’, ती अधिकारीको भनाइ छ ।

कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सोमबारबाट सुरु भएको वार्तामा गहन र सावधानीपूर्वक छलफल भएको बताए । ‘सम्झौतामा बाँकी रहेका अवरोधहरू पहिचान गर्ने लक्ष्य छ । जसले सबै पक्षहरू सम्झौतामा पुग्ने दिशामा अग्रसर छन् भन्ने देखाउँछ’ उनले बुधबार दोहामा पत्रकारहरूसँग भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप