मुख्य समाचार
मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत
मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत

। मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन् । विभिन्न खालका समस्यासहित दैनिक १०० भन्दा बढी श्रमिक दूतावास पुग्छन् । कतिपयले फोन तथा मेलबाट समेत समस्या दूतावासमा पुर्‍याउँछन् । तलब र सुविधा नपाउने, लामो समय काममा लगाइने, पासपोर्ट–भिसा जस्ता कागजात गुम्ने वा उद्धार आवश्यक पर्ने जस्ता समस्या भोग्दै आएका छन् । यी समस्या समाधानका लागि क्वालालम्पुरस्थित नेपाली राजदूतावास मुख्य आधार हो ।

तर, दूतावासमा उपलब्ध जनशक्ति भने अत्यन्त न्यून छ । राजदूतसहित जम्मा २१ जना कर्मचारी रहेका दूतावासमा श्रमिकका हकहितको काम गर्ने मूल टिम ५–७ जनामात्र छन् ।

हालै वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोगमा करारमा राखिएका दुई कर्मचारीको तलब रोकिएपछि उनीहरूलाई हटाइएको छ, जसले थप चुनौती सिर्जना गरेको छ । दूतावासका श्रम काउन्सेलर कृष्ण प्रसाद भुसालका अनुसार बोर्डबाट तलब खानेगरी राखिएका दुई कर्मचारीलाई हटाइएको हो ।

उनीहरूलाई हटाइएपछि काममा थप समस्या भएको उनको भनाइ छ । ‘अब त ती दुई जना पनि हटेपछि झन् गाह्रो भएको छ । चार लाख मानिस भनेको दुई जिल्लाको जनसंख्या जस्तै हो । यति ठूलो संख्यामा श्रमिक हुँदा सीमित जनशक्ति र स्रोत–साधनले सबै समस्या सम्बोधन गर्न कठिन हुन्छ,’ उनले भने ।



मलेसियामा महिनामा औसत ४० जना नेपाली श्रमिकको मृत्यु हुने गरेको तथ्यांक छ । शव नेपाल पठाउनेदेखि बिरामी तथा समस्यामा परेका श्रमिकलाई उद्धार गर्नुपर्ने दायित्व दूतावासको छ । तर स्रोत–साधन अपुग हुँदा धेरैपटक खर्च आफैंले व्यवस्थापन गर्नुपर्ने अवस्था आउने गरेको दूतावासका अधिकारीहरू बताउँछन् ।

दैनिक औसत १५०–२०० जना नेपाली पासपोर्ट सेवाका लागि दूतावास पुग्छन् । त्यस्तै, ५ देखि ३० जनासम्म श्रमिकको गुनासो आउने गरेको छ । यसबाहेक कम्पनीहरूले पठाउने मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण, निरीक्षण तथा कानुनी प्रक्रिया पनि दूतावासकै जिम्मेवारीमा पर्छ ।

दूतावासले श्रमिकसँग सीधा सम्पर्क बढाउन विभिन्न माध्यम प्रयोग गरिरहेको छ । भुसालका अनुसार श्रमिकका गुनासा सुन्न र समाधान गर्नका लागि हटलाइन, इमेल, क्युआर कोड जस्ता सुविधाको व्यवस्था छ ।

‘हामीसँग चारवटा हटलाइन छन्, इमेलबाट गुनासो लिन्छौं, क्यूआर कोडमार्फत पठाउने व्यवस्था छ । हप्तामा एकपटक फेसबुक लाइभमार्फत प्रत्यक्ष प्रश्न–उत्तर गर्ने गर्छौं,’ उनले भने ।

सबैभन्दा ठूलो समस्या भनेकै अपुग स्रोत–साधन हो । ‘चार लाख श्रमिकलाई सेवा दिन जम्मा १९–२० जना कर्मचारी पर्याप्त छैनन् । अझ उद्धार र राहतका काममा त ५० प्रतिशत पनि पूरा गर्न सकिँदैन,’ भुसालले भने ।

उनका अनुसार, दूतावासलाई स्थानीय कर्मचारी राख्ने प्रावधान भए पनि मलेसियाली नागरिकले यस्तो काम गर्न नचाहेकाले लामो समयदेखि बस्दै आएका नेपालीलाई नै राखिएको थियो । तर तलब रोकिँदा उनीहरू पनि हटाइएका छन् ।

एनआरएनए, स्थानीय समुदाय तथा स्वयं दूतावासका कर्मचारीको व्यक्तिगत पहलमा उद्धार कार्य भइरहे पनि दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायले जनशक्ति र बजेट बढाउनैपर्ने आवश्यकता देखिएको दूतावासका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...